माओवादी एकता बाध्यता कि आवश्यकता ?

nepal-maoist-flagsकाठमाडौं–जेठ १ । नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिन भन्दै छिट्टै एउटा बृहत् एकताको घोषणा हुन लागेको छ । दश वर्षसम्मसँगै जनयुद्ध लडेका र राष्ट्रमा आमुल क्रान्तिकारी परिवर्तन ल्याएको दाबी गर्दै आएका माओवादी पार्टी तथा शक्तिहरुबीच एकता हुन लागेको हो ।

विभिन्न समूह र गुटका नाममा विभाजित माओवादी पार्टीहरु अबको एक हप्ताभित्र एकै ठाउँमा भेला हुँने मात्रै छैनन, एउटै पार्टीका रुपमा आफुलाई एकाकार भएको उद्घोष गर्दै नयाँ कम्युनिष्ट आन्दोलनको घोषणा गर्न तम्सिने छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको माओवादीको माउ पार्टी एकीकृत नेकपा (माओवादी), मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मातृका यादव नेतृत्वको नेकपा (माओवादी), मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी समूहमा रहेका र माओवादी विभाजित भएपछि कुनै पनि समूहमा नलागेका नेता तथा कार्यकर्ताले एउटै पार्टीबाट कम्युनिष्ट आन्दोलनलाई उचाई दिने प्रतिबद्धता त्यो दिन गर्नेछन । तर वैद्य नेतृत्वको माओवादीको दुई तिहाइभन्दा बढी हिस्सा एकता प्रक्रियामा सामेल हुन लागेपनि एक तिहाइ नेताहरु एकता प्रक्रियामा सहभागी हुने छैनन । यसबाट वैद्य नेतृत्वको माओवादी भने अस्तित्वमा रहने निश्चित जस्तै छ ।

शान्ति प्रक्रियाका बाँकी काममा अबरोध, माओवादी नेता तथा कार्यकर्ता बिरुद्धका तात्कालिन जनयुद्धकालिन मुद्धाको फैशला, विस्तृत शान्ति सम्झौताको मर्म र भावनालाई ख्याल नगरि त्यसविरुद्ध भएगरेका गतिविधिले माओवादी पार्टीलाई एकाकार गराएको हो । एकताका लागि माओवादी घटकबीच १२ बुँदे समझदारी बनेको छ । संविधानसभाबाट पारित भएको नेपालको संविधानमा रहेका सकारात्मक विषयलाई ग्रहण गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्ने, जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको दिशामा अद्धि बढ्ने लगायत सहमति माओवादी एकताको आधारका रुपमा हेरिएको छ । माओवादी पार्टी र आन्दोलनमा विभाजन आउँदा क्रान्तिकारीमा निरासा, विघटन, पलायन बढेको र देशी तथा विदेशी चलखेलका कारण नेता तथा कार्यकर्ता बिरुद्ध षड्यन्त्र बढेको आरोप सहित सम्पूर्ण माओवादीसहित सच्चा कम्युनिस्टबीच एकता अहिलेको ऐतिहासिक आवश्यकता हो – नेताहरुले भनेका छन् ।

हुनत, दाश्रो संविधानसभा निर्वाचनमा एमाओवादीले सोचेजस्तो परिणाम ल्याउन नसकेपछि नै एकताको प्रक्रिया अघि बढेको बताइन्छ । प्रमुख दलबीच संविधान लेखनको विषयमा २०७२ जेठ २५ गते १६ बुँदे सहमति भएपछि वैद्य नेतृत्वको माओवादी सहमति प्रक्रियाबाट बाहिरिएपछि एकता प्रक्रियामा केही समय समस्या आएको थियो । पछि एकपछि अर्को गर्दै माओवादी नेता तथा कार्यकर्ता बिरुद्ध सर्बोच्च अदालतबाट नै जनयुद्धकालीन मुद्दामा दोषी करार गर्दै जेल हाल्ने समेतको फैसला हुन थालेपछि माओवादी पार्टीबीच एकता अपरिहार्य जस्तै बन्यो ।

ढिलै भएपनि ६ भन्दा बढी टुक्रामा विभाजित माओवादी पार्टीले एकता प्रक्रियाबाट एकाकार हुने घोषणा गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको मूलप्रवाह बन्ने घोषणा गरेका छन् । यो घोषणाले एकता प्रक्रियाबाट बाहिर रहेका मोहन बैद्य, नेत्र विक्रम चन्दलगायतलाई समेटेर साँच्चै माओवादी पार्टीलाई देशको मूलप्रवाहमा ल्याउँछ वा माओवादी पार्टी हुँदै कम्युनिस्ट आन्दोलनलाई नै धक्का दिन्छ यसका लागि भने कुर्नैपर्छ ।

तपाईको प्रतिक्रिया