ट्रमा सेन्टरमा एक बर्षमा ३० हजारको उपचार

काठमाडौँ, २८ वैशाख । गत वैशाख १२ गतेदेखि सञ्चालनमा आएको राष्ट्रिय ट्रमा सेन्टरमा सञ्चालनमा आएको एक वर्षको अवधिमा २९ हजार ८३८ बिरामीको उपचार गरिएको छ ।

trauma-centerविशेषगरी दुर्घटनामा परी आपत्कालीन उपचार गराउनुपर्ने घाइतेको सहज रुपमा उपचार गराउने उद्देश्यले निर्माण गरिएको ट्रमामा आउने धेरै बिरामी हाडसँग सम्बन्धित भएको सेन्टरका कर्मचारी अश्विन बरालले जानकारी दिनुभयो ।

यही वैशाख २८ गतेसम्ममा २२ हजार १२१ नयाँ बिरामी छन् भने सात हजार ७१७ पुराना बिरामीले उपचार गराएका छन् । २०० श्ययाको क्षमता भएको सेन्टरमा आकस्मिक सेवाका लागि वैशाख २८ गतेसम्म १६ हजार ८५१ जना बिरामी आएका छन्, जसमा वीर अस्पतालबाट आएका नौ हजार ६०, पुलिस केसमार्फत आएका तीन हजार ४५२ र सेन्टरमै आएका चार हजार २३९ बिरामी छन् ।

खासगरी सडक दुर्घटनामा परेर घाइते भएका बिरामीको उपचार गर्न १७ वर्षअघिबाट बन्न सुरु गरेको सेन्टर गत वैशाखको गोरखा भूकम्पदेखि पूर्ण रुपमा सञ्चालनमा आएको हो । सेन्टरका सुपरिटेन्डेन्ट प्राडा प्रमोदकुमार उपाध्यायका अनुसार पानीमा डुबेका, आगोले पोलेका, सडक दुर्घटनामा परेका, लडेर चोटपटक लागेका, आकस्मिक मानसिक विक्षिप्तलगायत बिरामी यहाँ आउने गर्छन् ।

उहाँले भन्नुभयो, “सेन्टरमा अहिले शारीरिक रूपमा भएको चोटपटकको मात्र उपचार रहेको छ । मानसिक ट्रमा भएका, डुबेका र विष सेवन गरेका बिरामीको भने अन्य अस्पतालमा जनरल फिजिसियनबाट हुने भएकाले हामीले यहाँ उपचार गरेका छैनौँ ।”

वीर अस्पतालअन्तर्गत नै रहेको यो सेन्टरमा कस्ता बिरामीको उपचार हुन्छ भन्नेबारे अझै पनि धेरैलाई जानकारी नभएकाले यसको प्रचारप्रसार गर्न आवश्यक रहेको सुपरिटेन्डेन्ट उपाध्यायले बताउनुभयो ।

स्वास्थ्यमन्त्री रामजनम चौधरी नेपालमा बढ्दो सडक दुर्घटनालाई ध्यानमा राखी पूर्व–पश्चिम राजमार्गमा पनि ट्रमा सेन्टर खोल्ने तयारी गर्न लागिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेपालको मेचीदेखि महाकालीसम्म पाँच÷छ स्थानमा र मुलुकका भित्री राजमार्गमा पनि धेरै दुर्घटनामा हुन्छ, घाइतेको उपचार गर्न काठमाडौँ अथवा भारतसम्म पुग्नुपर्ने अवस्था छ, टाढासम्म उपचार गर्न कठिन भएकाले विभिन्न स्थानमा ट्रमा सेन्टर खोल्ने विषयमा गृहकार्य गरिरहेका छौँ ।”

नेपालमा दुर्घटनामा परेर मृत्यु हुनेमा पाँचदेखि ४४ वर्ष उमेरका मानिस बढी रहेको तथ्याङ्क छ । नेपालमा बढ्दै गएको सवारी दुर्घटना हेर्दा सन् २०२० सम्ममा मृत्युको तेस्रो कारण सवारी दुर्घटना बन्न सक्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ । अहिले सवारी दुर्घटना नेपालमा मृत्युको चौथो कारण सडक दुर्घटना हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाका कारण दैनिक तीनको मृत्यु तथा १२ जना गम्भीर घाइते हुने गरेका छन् ।

भारत सरकारको पूर्ण सहयोगमा वीर अस्पतालसँगैको करिब ११ रोपनी जग्गामा २५० करोडको लगानीमा निर्मित नौ तले भवन भूकम्प प्रतिरोधात्मक छ । कल्पना पौडेल/रासस

Published On:  471पटक हेरिएको

तपाईको प्रतिक्रिया