नीति तथा कार्यक्रम राम्रो तर धेरै अपूर्ण : सांसदहरु

काठमाडौँ, २८ वैशाख । एनेकपा (माओवादी)की नेत्री एवम् सांसद आशाकुमारी कोइराला समग्रमा सरकारको नीति तथा कार्यक्रम राम्रो भए पनि धेरै नै अपूर्ण रहेको टिप्पणी गर्नुभएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि यही वैशाख २६ गते व्यवस्थापिका–संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद कोइरालाले भन्नुभयो – कुन जगमा संविधान निर्माण भयो भन्ने कुरा नीति तथा कार्यक्रममा परेको छैन । हिजो भएका सहमतिलाई लत्याइएको छ ।

मुलुकमा राजनीतिक परिवर्तनमा बलिदान दिने सहिद र घाइते परिवारलाई सम्मान गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा नपरेकामा उहाँले असन्तुष्टि पनि व्यक्त गर्नुभयो र सरकारको नीति तथा कार्यक्रमप्रति आलोचनात्मक समर्थन जनाउनुभयो ।

स्वागतयोग्य छ – राप्रपा नेपाल

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद सुशील श्रेष्ठले लोकतन्त्रको आधारशिलाको रुपमा रहेको स्थानीय निकायको निर्वाचन तोकिएकै महिनामा सम्पन्न गराउने विषयमा दलहरुबीच सहमति हुन आवश्यक छ भन्नुभयो ।

उहाँले भन्नुभयो – नीति तथा कार्यक्रममा राजनीतिक सहमति र मुलुकलाई समृद्धितिर लैजाने धेरै कार्यक्रम परेका छन् । यो स्वागतयोग्य भएकाले समर्थन गर्दछु । यसमा मठमन्दिरलाई दिने अनुदान रोकेकाले त्यसलाई सच्याउन आवश्यक छ ।

दूरदृष्टि बोकेको रचनात्मक दस्तावेज – फोरम लोकतान्त्रिक

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता एवम् सांसद जीतेन्द्रनारायण देवले आर्थिक रुपान्तरण र समृद्धिका हिसाबले मुलुकलाई अघि बढाउन नीति तथा कार्यक्रम दूरदृष्टियुक्त रचनात्मक दस्तावेजका रुपमा आएको भन्दै समर्थन गर्नुभयो ।उहाँले भन्नुभयो – युवालाई स्वरोजगार बनाउने, संवाद र सहमतिको राजनीतिक संस्कार अघि बढाउनेलगायतका विषयवस्तु नीति तथा कार्यक्रमको स्वागतयोग्य पक्ष हो ।

मधेसका समस्या समाधानमा उदारता देखाउनुपर्नेमा त्यसमा कमी कमजोरी भएको बताउँदै सांसद देवले भन्नुभयो – भारतसँगको सम्बन्ध सुगौली सन्धिका आधारमा होइन, सन्तुलित र व्यावहारिक हिसाबले अघि बढाउने नीति अवलम्बन गर्न आवश्यक छ । रासस

तपाईको प्रतिक्रिया