भक्तपुर– बैशाख २६ । उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले बजेट आउनु अगाडि सरकार परिवर्तन नहुने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा उहाँले सरकार बनाउने र ढाल्ने क्रम शुरु भएता पनि बजेट आउनु अघिसम्म सरकार परिवर्तन नहुने बताउनु भएको हो । उपप्रधानमन्त्री रायमाझीले नीति तथा कार्यक्रमको सम्पूण तयारी भईसकेको र सरकार परिवर्तनले सबै क्षेत्रलाई प्रभाव पार्ने भएकाले समेत राजनीतिक समिकरणमा कुनै परिवर्तन नहुने बताउनु भयो ।
नेपालको संसदमा सबैभन्दा ठूलो पार्टी काँग्रेस भएकाले र उ सरकारमा नरहेको अवस्थाका कारण सरकार परिवर्तनका लागि उसले गर्ने कसरत समेत स्वाभाबिक रहेको उहाँको भनाई थियो । । बहुमतीय सरकारले देशलाई निकास र विकास दिन नसक्ने भन्दै उहाँले काँग्रेस सहितको सरकार अहिलेको आवश्यकता भएको बताउनुभयो । राष्ट्रपतिको भारत भ्रमण र राजदुत फिर्ता बोलाउने काम कुटनीतिक पहल भएको भन्दै उहाँले प्राकृतिक प्रकोप र नेपालको आन्तरिक राजनीतिका कारण भ्रमण रोकिएको बताउनुभएको थियो ।
पछिल्लो समय एमाओबादी र बैद्य पक्ष बीचको एकताको कामले तिब्रता पाएको भन्दै उहाँले छिट्टै नै दूई पार्टी एक हुने बताउनुभएको थियो । उर्जाको प्रबर्धनमा नेपाल सरकार लागि परेको बताउँदै उहाँले नेपालीले भोग्नु परेको लोडसेडिङ अव छिट्टै अन्त्य गर्न सरकार लागि परेको बताउनु भयो ।