उत्तर कोरिया– वैशाख २६ । उत्तर कोरियाली नेता किम जोङ उनले बिश्व निशस्त्रीकरणका लागि आफू सहयोग र सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।
गत जुन महिनादेखि ६ पटक भन्दा बढी क्षेप्यास्त्र परीक्षण गरी विवादमा आएको उत्तर कोरियाका नेताले पहिलो पटक निशस्त्रीकरणमा सहयोग गर्ने धारणा सार्वजनिक गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उहाँले एक आणविक राष्ट्रका हैसियतमा उत्तर कोरियाले जिम्मेवार भएर संसारभरको निशस्त्रीकरणका लागि प्रयत्न गर्ने बताउनुभएको छ । आणविक अप्रसार सन्धीको पालनका लागि समेत कोरिया तयार रहेको उहाँको दाबी छ ।
कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कंग्रेसको सम्बोधनका क्रममा उहाँले यो धारणा राख्नुभएको हो । आणविक परीक्षणका कारण विवादमा तानिएको कोरियाका यी नेताले आफ्नो देशको क्षेप्यास्त्र परीक्षणको काम अरु कसैको खतराका लागि गरेको नभई आफ्नो देशका विरुद्धमा हुनसक्ने सार्वभौमसत्ताको हमलाका विरुद्धमा गरिएको दाबी गर्दै आफ्नो राष्ट्रिय कदमको बचाउ गरेका छन् । आर्थिक विकासलाई अघि बढाउन आफ्नो पार्टीले कडा परिश्रम गरिरहेको जानकारी उहाँले बताउनुभएको थियो । उहाँले अहिले दक्षिण कोरियासँगको सम्बन्ध सुधारमा समेत जोड दिइने धारणा सार्वजनिक गर्नुभएको छ ।
राष्ट्रिय रुपमा एकीकरणको लागि दक्षिण कोरियासँगको सम्बन्ध आधारभूत रुपमा नै बलियोसँग अघि बढाइने प्रतिबद्धता यी नेताको थियो । यता, दक्षिण कोरियाले पनि सम्बन्ध सुधारको यो आह्वानलाई सकारात्मक रुपमा नै लिइएको बताइएको छ । सिन्ह्वा ÷ एएफपी