काठमाडौं–बैशाख । भूकम्प र यसको त्रास अन्त्य भइसकेपनि नेपाली पर्यटन क्षेत्रले अपेक्षाकृत सुधारको स्वाद चाख्न पाएको छैन । भत्किएको संरचना बनाएर नयाँ पर्यटकीय वातावरण बनाउन नसके पर्यटन व्यवसाय लामो समयसम्म प्रभावित हुन सक्ने सरोकारवालाहरु बताउँछन ।
भूकम्पले पर्यटनको प्रमुख धरोहर मानिएको काठमाडौं उपत्यकाका ९० प्रतिशत सांस्कृतिक धरोहर ध्वस्त छन्। यी धरोहर पुर्ननिर्माण गर्दै पुन विकास गर्न निकै चुनौतीपूर्ण छ। हुनत, केहि व्यवसायीहरु नेपालको सांस्कृतिक धरोहर ध्वस्त भएपनि पर्यटक गाइडले यस अघि भएको र अहिले बिग्रिएको संरचना बारे नै पर्यटकलाई जानकारी दिन सक्ने बताइरहेका छन्। विपतपछिको संरचना देखाउदाँ पनि पर्यटकले सकारात्मक रूपमा नै हेर्छन। सबै भौतिक संरचना ध्वस्त नभएको र सबै पर्यटकीय गन्तव्य नसकिएकोले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनीहरुको बुझाइ छ ।
पर्यटकको आगमन न्यून रहँदा व्यवसायमा ठूलो धक्का लागेको छ । यो विपतले पर्यटन क्षेत्रलाई केही वर्ष पछाडि धकेलेको स्वकारोक्ती पर्यटन ब्यवसायीको छ ।
साँच्चै पर्यटलाई बचाउने र पर्यटन क्षेत्रमा भविष्य देख्ने हो भने पर्यटकीय पूर्वाधार र पुननिर्माणमा राज्य तथा सरोकारवाला पक्षले बेलैमा उचित ध्यान दिनुपर्ने देखिन्छ ।