काठमाडौँ– वैशाख २३ । चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले विज्ञापन करबाट रु एक करोड ९० लाख आम्दानी गरेको छ ।
विज्ञापन करबाट वार्षिक रु ५० लाख लक्ष्य राख्दै आएको कामपाले गत वर्ष रु १६ लाख मात्र आम्दानी गरेको थियो । कामपाका राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार चालु आवको चैत मसान्तसम्ममा विज्ञापनको करमार्फत सो रकम असुल गरिएको हो ।
“विगतमा विभिन्न किसिमका होडिङबोर्ड राखिने गरिन्थो, नियमभन्दा बाहिर रहेकाले कर तिर्नका लागि आउँदैनथे, तर अहिले ती सबै कर तिर्न आएका छन्” उहाँले भन्नुभयो । विज्ञापन नीतिअनुसार कुनै पनि सार्वजनिक जग्गामा विज्ञापन र बोड राख्न पाइँदैन । निजी जग्गामा भने छिमेकीको जग्गा र बाटोभन्दा १० फिटभित्र रही ३० फिट उँचाइसम्म मात्र विज्ञापन राख्ने पाइने नियम छ । खुल्लामञ्चमा राखिएको होडिङबोर्ड नियम बाहिर रहेको भन्दै कामपाले आपत्ति जनाएको छ ।
छिटफुट रुपमा अझै केही स्थानमा नियमभन्दा बाहिरका विज्ञापन रहेकाले त्यसको पनि तत्काल अनुमगन गरी हटाउने कार्य भइरहेको बताइएको छ । रासस