आगामी आव.उत्साहजनक आर्थिक सुधारको वर्ष : मन्त्री पौडेल

काठमाडौँ–बैशाख २३ । व्यवस्थापिका–संसद्को बिहिवारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७३\०७४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता बारे जानकारी गराउनुभएको छ ।
सरकार आर्थिक सुधारको दिशामा अघि बढ्ने बताउदै मन्त्री पौडेलले  आगामी आवलाई उत्साहजनक आर्थिक सुधारको वर्ष बनाइने, साना तथा मझौला उद्योगलाई प्राथमिकता दिइने, अनुशासित उत्पादन प्रणाली अवलम्बन गरिने, सरकारी निजी र सहकारीका क्षेत्रबाट तीव्र आर्थिक विकास गरिनुका साथै नियामक र लोककल्याणकारी भूमिकामा रहने बताउनुभयो । उहाँले जनतालाई विकास प्रक्रियामा सहभागी हुने उत्प्रेरक वातावरण निर्माण गर्ने, सबै नेपालीको समान र उत्तिकै आर्थिक विकास गरी समतामूलक समाजमा जोड दिइने, वैज्ञानिक भूमिको प्रयोग, गुणस्तरीय शिक्षा र आधुनिक स्वास्थ्यमा प्राथमिकता, विश्वसनीय आपूर्ति प्रणाली, श्रम बजारमा सुधार, वित्तीय सङ्घीयता कार्यान्वयन, अनुत्पादक खर्च नियन्त्रण र पारदर्शी प्रणाली विकास को सुरुवात गरिने बताउनुभयो ।
कर प्रणालीमा सुधार, करको दायरा वृद्धि, आन्तरिक स्रोतको परिचालन, क्षति भएका आर्थिक संरचनालाई क्षतिपूर्ति, राष्ट्रिय प्राथमिकताका आधारमा अन्तर्राष्ट्रिय सहयोग परिचालन , संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम पूरा, भूकम्पपछिको पुनःनिर्माणमा प्राथमिकता, विद्युत् प्रसारण लाइन विस्तारका साथै योजना कार्यान्वयनमा आमुल सुधार थालिने उहाँको भनाई थियो । जेठ १५ मा बजेट आउने कार्यतालिका रहेको छ ।

तपाईको प्रतिक्रिया