धनकुटा–बैशाख २३ । गोधुली क्लब सुनसरी धनकुटामा जारी १२औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
स्थानीय तल्लो टुडिखेलमा बिहिवार भएको अन्तिम सेमिफाइनलमा साबिक विजेता झापा एघारलाई पेनाल्टी सुटआउटमा चार–दुई गोलअन्तरले पछिपार्दै गोधुली फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समयसम्म एक–एक गोलको बराबरी भएपछि १५ मिनेटको समय थपिएपनि उक्त समयमा समेत दुबै टोलीबाट गोल नभएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा सुनसरीका लागि निराजन खड्का, प्रकाश बुढाथोकी, हेमन्त थापामगर र मिलन राईले गोल गरे । झापाका लागि सोनम राई र सुमिन मैनालीले मात्रै गोल गरे । खेलमा म्यान अफ दी म्याच गोधुलीका नाईजेरेली खेलाडी पिटर घोषित भएका थिए ।
गोधुलीले उपाधिका लागि शनिबार बिआरसी भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।