काठमाडौँ–बैशाख २३ । प्रमुख सत्तारुढ घटक एमाले र एमाओवादीबीच यहि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सहमतिभएपछि तत्काल सरकार परिवर्तन नहुँने भएको छ ।
बिहीवार बिहान प्रचण्ड निवास लाजिम्पाटमा बसेको नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीका शिर्ष नेताहरुको बैठक सहमतिमा पुग्न नसकेपछि ओली सरकारको आयू बढेको हो । कांग्रेस बैठक लगत्तै एमाले नेताहरु भेट्न पुगेका एमाओवादी अध्यक्ष लगायतका शिर्ष नेताहरुले घोषित कार्यक्रमका रुपमा अघि सारिएको नीति तथा कार्यक्रम घोषण पूर्व सरकारको समर्थन फिर्ता नलिने बताएका थिए ।
बुधबार साँझ मात्रै आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेस सहमत भएको भन्दै एमालेको सहयोग माग्न बालुवाटार पुगेका एमाओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरु रातारात आफ्नो निर्णयबाट पछि हटेपछि ओली सरकार केहि समय टिक्ने भएको छ ।
कांग्रेससँगको बैठकका क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तत्काल ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने भन्दै देउवाले नयाँ सरकार गठनका लागि ओली विरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्न गरेको अग्रह अस्वीकार गर्नुभएको थियो । एमाओवादी अध्यक्ष दाहालमा आएको रातारातको परिवर्तनले हतारमा सरकार फेर्न चाहने कांग्रेस योजना तत्कालका लागि असफल भएको छ ।