साइकल मन्त्री पासवानको विलासी चाहना

काठमाडौं–बैशाख २२ । बहुजन शक्ति पार्टीका अध्यक्ष, सांसद अनि हालका जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवान बेला बेलामा विभिन्न कारणले चर्चामा आउने गर्छन् । सविधानसभाभित्र होस या बाहिर उनी विगतमा पनि विभिन्न हर्कत गरेर चर्चामा आउने गरेका थिए । केपी ओली नेतृत्व सरकार गठन भए लगत्तै विज्ञान तथा प्रविधि मन्त्री बनेका पासवान मन्त्रालय जांदा आउंदा साइकल चढेर चर्चामा आए । संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दीका बेला उनले अरु नेतालाई पाठ सिकाउने र  राष्ट्रियता देखाउने भन्दै साइकलमा झण्डा राखेर कार्यालय जाने आउने गरे । तर त्यसको केही समयपछि नै मन्त्री पासवानको साइकल मोह टुटेर, मन्त्रालयका महँगा गाडीतिर पुग्यो र उनले आफूलाई महँगो सुविधायुक्त गाडी समेत माग गरे । साइकलबाट चर्चा कमाएका मन्त्री पासवान पछिल्लो समय हेलिकप्टर चढेका कारण चर्चामा छन् । पार्टीको कामका लागि पनि मन्त्री पासवान हिजोआज हेलिकप्टर चढेर जिल्ला भ्रमणमा निस्कन थालेका छन् । पछिल्लो समय मात्रै मन्त्री पासवानले पटकपटक हेलिकप्टर चार्टड गरेर सर्लाही, सिरहा, सिन्धुली, रौतहट लगायतका जिल्लाको भ्रमण गरेका छन् ।

उनले एकसातामा पाँच पटक हेलिकप्टर चार्टर्ड गरेका हुन् । मन्त्री पासवानले पहिलो संविधान सभाको संवैधानिक समितिमा बोल्न नपाएको झोंकमा संसद् सचिवालयको चार तले भवनबाट कुर्सी चउरमा फालेका थिए । यतिमात्र होइन, सोही समितिले तत्कालीन विवाद समाधान उपसमितिको म्याद थप लगायतबारे निर्णय गर्न लाग्दा ६९ वैशाख २ गते पनि उनले अहिंसावादी भन्दै शीर्ष नेतासामु लगाएको सर्ट र भित्री गन्जी नै च्यातचुत पारेका थिए ।  पासवानको हर्कतका रेकर्ड संविधान सभामा मात्र होइन संसद्मा पनि छ । लोकतन्त्र स्थापनापछि मार्शल प्रयोग गरेर संसद्बाट निकालिने सांसद् पनि यिनै हुन । ६८ साल असार ५ गते तत्कालीन स्थानीय विकास मन्त्री उर्मिला अर्याललाई संसद्मा बोल्न जान रोक लगाएपछि उनीसहितका सभासदलाई मार्शल लगाएर बाहिर निकाल्नदै ७ दिन निलम्बनमा राखिएको थियो ।

पहिलो संविधानसभा मात्र होइन दास्रो संविधान सभामा पनि यिनले मर्यादाविपरीतका काम जारी राखे । अहिंसावादी दाबी गर्ने यी सभासद् संविधानमा आफ्ना मागहरु नसमेटिएको भन्दै संविधान सभाको बैठकमा ६/७ घण्टासम्म रोष्ट्रममा पलेंटी कसेर बसेका थिए । त्यसो त पासवानले नयां संविधानको मस्यौदा संविधान सभाभित्रै च्यात्ने प्रयत्न पनि नगरेका होइनन् । आफुलाइ राष्ट्रबादी देखाउन चर्का भाषण र उदण्ड व्यवहार देखाउने हालका मन्त्री पासवान पछिल्लो समय भने दैनिक राज्यकोषको लाखौ रकम खर्चेर हेलिकोप्टरको शयर गर्न व्यस्त छन् ।

तपाईको प्रतिक्रिया