काठमाडौँ–२० वैशाख । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले स्वदेशमै रोजगारी र आर्थिक समृद्धिको माग राख्दै छ दिनदेखि खुलामञ्चमा आमरण अनशनमा बसेका युवाको पक्षमा ऐक्यबद्धता जनाउनुभएको छ ।
अनशनस्थल खुलामञ्च पुगि पूर्व प्रधानमन्त्री समेत रहनुभएको भट्टराइले राज्यले बेरोजगार युवालाई क्षमताअनुसार रोजगारी दिनुपर्ने र बेरोजगारी समस्या समाधान गर्नुपर्नेमा जोड दिदै मागप्रति ऐक्यबद्धता जनाउनुभएको हो । नयाँ शक्तिका संयोजक डा भट्टराईले अनशनकारीको स्वास्थ्यमा प्रतिकूल समस्या आउनुअघि नै सार्थक संवाद थाल्न सरकारको ध्यानाकर्षण गराउँदै नेपालको पहिलो समस्या रहेको बेरोजगारी समस्याको यथोचित समाधान खोज्न राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
कांग्रेस सांसद तथा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्ण, नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल लगायतले समेत अनशनस्थल पुगेर ऐक्यबद्धता जनाइसकेका छन् ।
योग्यता, सीप र दक्षताअनुसारको रोजगारी, रोजगारी दिन नसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋण दिइनुपर्ने, बेराजगार भत्ताको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेर १२ जना युवा गत बुधबारदेखि खुलामञ्चमा आमरण अनशनमा छन् ।
अभियानका संयोजक पूर्व संसद समेत रहनुभएका चन्द्र थापाको नेतृत्वमा अनुषा राई, जीविता आचार्य, भरत लामिछाने, निरज पुन, ज्ञानदेवी विष्ट, महेश नेपाल, मञ्जु गौतम, अजित झा, लक्ष्मी स्याङ्ताङ तामाङ, दावा शेर्पा र रियाज पौडेल आमरण अनशनमा छन् ।