काठमाडौ\धनगढी–बैशाख १९ । पूर्वी र पश्चिम तराइको मौसमी बदलीले जनजीवन प्रभावित पारेको छ । मौसममा देखिएको अदली बदलीले देशका केही स्थानमा पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिन यता निरन्तर रुपमा बढेको गर्मीले मध्ये तथा सुदूरपश्चिम र तराइका अधिकांश जिल्लाका सर्वसाधारण मारमा परेका छन् । सर्वसाधारणको बाक्लो चहलपहल हुने दिपायल, नेपालगंज, भैरहवा, धनगढी, सुर्खेतलगायत पूर्वी तराईका सिराहा, धनुषा लाहान लगायत अधिकांश तराईका जिल्ला गर्मी बढेका कारण सुनसान देखिएका छन् । शनिबार सबैभन्दा बढी गर्मी धनगढीमा मापन भएको थियो ।
आइतबार यो क्रम अझ बढेको अनुमान मौसमविद्ले गरेका छन् । गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढेको छ । जलतथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकालगायत देशभर अझै तापमान बढ्न सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ ।
यता, डाक्टरहरुले पनि गर्मीको समयमा दिउँसो सकेसम्म घाममा ननिस्कन, निस्कनु परे छाता ओढ्न, तरल पदार्थ बढी खान, बासी तथा सडेगलेको खानेकुरा नखान सचेत गराएका छन् ।