काठमाडौं–वैशाख १९ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालक बिरुद्धको जरिवाना रकम बढाउने प्रक्रिया सुरु भएपनि कार्यान्वयनमा समस्या देखिएको छ ।
यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ संसोधन गरेर सरकारले आइतबारदेखि लागु गर्नेगरि जरिवानाको रकम बढाएपछि कर्यान्वयनमा अन्यौलता बढेको हो । जरिवानाको कार्यान्वयन गर्ने निकाय ट्राफिक प्रहरी महाशाखालाई आइतबारदेखि जरिवाना रकम नबढाउन प्रहरी प्रधान कार्यालयले निर्देशन जारी गरेपछि सरकारको निर्णय कार्यान्वयनमा चुनौती बढेको हो । यस्तो निर्णयले जरिवाना बृद्धिको यो निर्णय कहिलेदेखि लागु हुन्छ भन्ने अन्यौलता बढेको ट्राफिक प्रहरी महाशाखा स्विकार गर्छ । सबै तयारी पूरा भएपनि अन्तिम समयमा आएको माथिल्लो निकायको आदेशले अन्यौलता बढेको ट्राफिक प्रहरीहरु बताउँछन ।
सरकारी निर्णय अनुसार ट्राफिक नियम पालना नगर्नेलाई आइतबारदेखि लागू गर्नेगरि न्युनतम पाँच सय रुपैयाँदेखि अधिकतम १५ सय रुपैयाँसम्म जरिवाना लिने तयारी भएको थियो । लेन अनुशासन उल्लघंन गरे, मापसे गरेर गाडी चलाउने, लाइसेन्स बिनै गाडी चलाउने, बाटोको इजाजत पत्र नलिई गाडी चलाउने, लापरवाही गर्ने , तिब्र गति, सिटबेल्ट तथा हेल्मेट नलगाउने, निषेधित ठाउँमा पार्किङ गर्ने र क्षमता भन्दा बढी यात्रु तथा लोड बोक्ने सवारी तथा चालक ट्राफिकको निसानामा पर्दै आएका छन ।
नियम बिपरित यसरी सवारी चलाउने गरेका कारण पछिल्लो समय काठमाण्डौं उपत्यकामा मात्रै दैनिक दुई हजार बढी कारवाहीको दायरामा आउने गरेको तथ्यांक महानगरीय ट्राफिक प्रहरी महाशाखासँग छ ।