कर्णेल लामा रिहाइका लागि परराष्ट्रमन्त्री थापाले गरे बेलायती अधिकारीसँग माग

काठमाडौं–बैशाख १७  । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले युद्धअपराध आरोपमा बेलायतमा कानुनी लडाइँमा रहेका नेपाली सेनाका कर्णेल कुमार लामाको शीघ्र रिहाइका लागि बेलायती अधिकारीसँग माग गरेका छन्।
लन्डनमा बेलायती विदेशराज्यमन्त्री ह्युगो स्वायरसँग भएको भेटमा परराष्ट्रमन्त्री थापाले पक्राउ परेको तीन वर्षसम्म पनि बहालवाला नेपाली सैनिक बेलायतबाट रिहा नहुनु दुःखद् रहेको भन्दै रिहाइको माग गरेका हुन । मन्त्री थापाले नेपाल र बेलायतबीच दुई सय वर्षदेखि सुमधुर सम्बन्ध रहेकोमा नेपालको एउटा बहालावाला सैनिक अधिकृतले तीन वर्षसम्म पनि बेलायतमै मुद्दा खेप्नुपर्दा सम्बन्धमा समस्या आउनसक्ने बताएको परराष्ट्र निकट श्रोतको दाबी छ। बेलायतजस्तो कानुन र विधिको शासन पालना गर्ने देशले एउटा बहालवाला शैनिकलाई लामो समयसम्म हिरासतमा राख्नु ठिक नभएको बताएको श्रोतको दाबी छ । जवाफमा बेलायती राज्यमन्त्री स्वायरले लामाको मुद्दा अहिले अदालतमै विचाराधीन रहेको उल्लेख गर्दै जुन महिनामा पुनः सुनुवाइ हुने र यो अन्तिम फैशला हुनसक्ने बताएका थिए।
मन्त्री थापाले न्याय दिन ढिलाइ गरेर न्याय दिन अस्वीकार गरेजस्तै देखिएको भन्दै लामाको यथाशीघ्र रिहाइ गरेर बिधिको शासन र बेलायती सर्वोच्चतालाई ख्याल गर्न भनेका थिए । द्धन्द्धकालका मानवअधिकार हननका विषय हेर्न सत्य निरूपण तथा मेलमिलाप आयोग एवं बेपत्ता छानबिन आयोग गठन भइसकेकाले कर्णेल लामामाथि लागेका आरोप संक्रमणकालीन संयन्त्रले हेर्ने थापाको जिकिर थियो ।
दक्षिण सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत रहेका लामा सन् २०१३ जनवरी महिनामा परिवारलाई भेट्न बेलायतस्थित इस्ट ससेक्स पुगेका बेला युद्धअपराधको अभियोगमा प्रहरीले पक्रेर मुद्दा दायर गरेको थियो।

तपाईको प्रतिक्रिया