आँखा शिविरमा ११३ मोतियाविन्दुका बिरामी

Eye_Campमहोत्तरी– वैशाख १६  । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा आयोजना गरिएको निःशुल्क आँखा उपचार शिविरमा ११३ जना मोतियाविन्दु रोगका बिरामी भेटिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखा, उपशाखा एकडारा, नेपाल–भारतमैत्री सहयोग र सगरमाथा चौधरी आँखा अस्पताल लहानको संयुक्त आयोजनामा जिल्ला सदरमुकाम जलेश्वर र एकडारा गाविसमा गरिएको निःशुल्क आँखा शिविरमा ११३ जनामा मोतियाविन्दु रोग फेला परेको रेडक्रस महोत्तरीका सभापति दीपक मिश्रले बताउनुभयो ।

सो शिविरमा जम्मा ३१३ जना महिला पुरुषको आँखा परीक्षण गरिएकामा ११३ जनामा मोतियाविन्दु रोग फेला परेको आँखा उपचार केन्द्र जलेश्वरका नेत्र अधिकृत रामानन्द विश्वकर्माले बताउनुभयो । उहाँले मोतियाविन्दु रोग फेला परेका सबैजनालाई सिरहाको लहानस्थित सागरमाथा चौधरी आँखा अस्पतालमा शुक्रबार निःशुल्क शल्यक्रिया गरिने बताउनुभयो । गर्मीयामको बेला महोत्तरीलगायत तराईका जिल्लामा आँखासम्बन्धी अत्यधिक बिरामी हुने गरेकाले आँखा उपचारसम्बन्धी यस्ता शिविर पटक पटक सञ्चालन गरिदिन सम्बन्धित निकायलाई रेडक्रस महोत्तरीका सभापति मिश्रले आग्रह गर्नुभयो ।

यस्तै, नेत्र अधिकृत विश्वकर्माले यस क्षेत्रका बासिन्दालाई आँखा निकै संवेदनशील अङ्ग रहेको र एक पटक आँखा ज्योति गुमिसकेपछि पुनः आउन नसकिने भएकाले यसको हेरचाह र उपचारमा लापर्बाही नगर्न आग्रह गर्नुभयो । रासस

तपाईको प्रतिक्रिया