नेपालसँगको विकास साझेदार बन्न चाहन्छ कोरिया

काठमाडौँ–बैशाख १३ । सभामुख ओनसरी घर्ती र दक्षिण कोरियाका सभामुख छङ उई ह्वाबीच भेटवार्ता भएको छ ।
thinleव्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा सोमबार भएको भेटवार्तामा नेपालको संसद् र दक्षिण कोरियाको संसद्बीचको सम्बन्धलाई प्रभावकारी बनाउँने र जनस्तरको सम्बन्धलाई सुमधुर बनाउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । सभामुख घर्तीले गत वर्षको बिनासकारी भूकम्पको समयमा दक्षिण कोरियाले उपलब्ध गराएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य निरन्तर रहने अपेक्षा गर्नुभएको थियो ।
जवाफमा कोरियाली सभामुख ह्वाले नेपालमा बन्न थालेको लगानी मैत्री वातावरण बारे स्वदेश फर्केर कुरा गर्ने र आर्थिक तथा विकास साझेदारीमा सहभागी हुने विश्वास दिलाउनुभएको सभामुख निकट स्रोतले जानकारी दिएको छ । नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकासमा खुलेर सहयोग गर्न आफूहरु तयार रहेको भन्दै उहाँले थप लगानीमैत्री वातावरण बनाउनसमेत सभामुख घर्तीलाई आग्रह गरेको बताइएको छ ।

यस्तै, कोरियाली सभामुखले उपयुक्त समयमा कोरियाको भ्रमण गर्नसमेत सभामुख घर्तीलाई निम्ता गर्नुभएको छ । भेटवार्तामा दक्षिण कोरियाका सभामुख सहितको २१ सदस्यीय प्रतिनिधिमण्डल र नेपालका तर्फबाट सभामुख घर्तीसहित व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, सचिव मुकुन्द शर्मा, प्रवक्ता डा भरतराज गौतम र संसद् सचिवालयका उच्च अधिकृतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया