काठमाडौंका सांस्कृतिक सम्पदाको पुनःनिर्माण सुरू

काठमाडौँ–बैशाख १३ । गत वर्षको भूकम्पबाट क्षतिग्रस्त बन्न पुगेको वसन्तपुरस्थित सांस्कृतिक सम्पदाको पुनःनिर्माण सुरु गरिएको छ ।basantapur-then-and-now
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वंशगोपाल मन्दिर पुनःनिर्माणको शुभारम्भ गरेसँगै  सोमबारबाट वसन्तपुरका, पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक सम्पदा पुनःनिर्माणको अभियान सुरु भएको हो । पुनःनिर्माणको शुभारम्भपछि नेता पौडेलले क्षतिग्रस्त सम्पदा तथा जनताको आभाष निर्माणका लागि राज्य जिम्मेवार बन्नुपर्ने बताउनुभयो । एक वर्षसम्म सरकार चुपचाप बस्दा सबैमा निराशा छाएको भन्दै उहाँले अब ढिला नगरि अभियानलाई तिब्रता दिनुपर्ने बताउनुभयो । सरकारले पुनःनिर्माणको काम सुरु गर्नै ढिला गर्दा दातृ राष्ट्र तथा निकायबाट प्रप्त अनुदान फिर्ता जाने खतरा बढेको नेता पौडेलले बताउनुभयो ।
कांग्रेस नेता समेत रहनुभएका सांसद नवीन्द्रराज जोशीले पुनःनिर्माणबाट बन्ने सबैजसो सम्पदा पुरानै स्वरुप तथा मौलिकतामा आधारित हुनुपर्ने बताउनुभयो । सरकार आफै सक्रिय भएर पुरानै स्वरुपमा सम्पदाको पुनःनिर्माण गर्नुपर्ने स्थानीयको समेतको माग रहेको नेता जोशीको भनाई थियो ।
काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सांस्कृतिक सम्पदाको पुनःनिर्माण पुरानै स्वरुपमा गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यता, पुरातत्व विभागले भूकम्पमा पूर्ण क्षति भएका १०४ सम्पदामध्ये ४९ सम्पदाको ठेक्का प्रक्रिया सकिएर पुनःनिर्माण सुरु भएको जानकारी दिएको छ ।

यस्तै, सोमबारबाटै स्वयम्भूको अनन्तपुर, पाटन दरबार क्षेत्रस्थित मणिमण्डप र भक्तपुरस्थित फसीवेग एवम् लायकू दरबारको ढोका पुनःनिर्माणको शुभारम्भ गरिने र यथासक्य छिटो काम सम्पन्न गर्ने योजना रहेको पुरातत्व विभागको दाबी छ ।

 

 

 

तपाईको प्रतिक्रिया