विनाशकारी भूकम्प गएको १ वर्ष पुरा, यस्तो छ नेपालमा भूकम्पको इतिहास

शिवहरि घिमिरे– ‘महाभूकम्प’ गएको आज एक वर्ष पूरा भएको छ । वि.स. २०७२ बैशाख १२ को त्यो दिन नेपालको इतिहासमा कहिल्यै नबिसर्ने दिन बन्यो । आजभन्दा एक वर्षअघि अर्थात आजकै दिन सम्झदै अत्यास लाग्ने र सबै नेपालीको जीवनकै अविस्मरणीय क्षण र कहाली लाग्ने दिन बन्न पुग्यो । बैशाख १२ गते अचानक आएको भूकम्पले सबैतिर तहस–नहस पा¥यो भने सबैलाई तितरवितर बनायो । गत वर्ष आजकै दिन गोरखाको बारपाक केन्द्र

बनाएर ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा नौ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । उक्त घटनामा हजारौं घाइते र अङ्गभङ्ग भएका छन् । साथै लाखौं नेपालीहरु अझै पनि घरबारबिहीन अवस्थामा छन् । वर्षभरिमा साना ठूला गरी ३० हजारभन्दा बढी परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि आएका निरन्तर परकम्पले नेपालीलाई अझै त्रसित बनाइरहेको छ ।

यस्तो छ नेपालमा भूकम्पको इतिहास
नेपालमा विक्रम सम्वत १२१८ असार शुक्ल तृतीया सोमबारका दिन पहिलो विनाशकारी भूकम्प गएको थियो । त्यतिबेला भूकम्प मापन यन्त्र (रेक्टर स्केल) को आविष्कार नभएका कारण कति रेक्टरको भूकम्प गयो भन्ने वैज्ञानिक आधार छैन । तर क्षतिको मूल्यांकनका आधारमा विज्ञहरुले त्यतिबेला करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको बताउँदै आएका छन् ।

सोही भूकम्पमा राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौं उपत्यकाको एकतिहाई जनसंख्या प्रभावित भएको थियो । काठमाडौंका सर्वसाधारणले १५ दिनदेखि एक महिनासम्म सहर छाडेका थिए । एक महिनासम्म पटकपटक भूकम्का धक्काहरु महसुस गरिएको थियो । धैरै घर, मन्दिर र पुरतात्विक सम्पदा ध्वस्त भएका थिए । दोस्रो ठूलो भूकम्प विक्रम सम्वत १३१६ को हो । त्यो भूकम्पले पनि ठूलै क्षति पुर्याएको अनुमान गरिन्छ । जसका कारण मुलुकमा महामारी फैलनुका साथै अनिकाल परेको थियो । धेरै मानिसको मृत्यु भएको अनुमान गरिए पनि यकिन तथ्यांक छैन ।

तेश्रो भूकम्प काठमाडौंलाई केन्द्रबिन्दु बनाएर विक्रम सम्वत १४६५ मा आएको थियो । त्यतिबेला काठमाडौं उपत्यकाका धेरै मठमिन्दर र घरहरु भत्किएका थिए । ठाउँठाउँमा जमिनमा ठूलठूला धाँजा फाटेका थिए । पानीको पुराना मुहान सुकेर हाहाकार भएको थियो । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किएका थिए । यसैगरी अर्को भूकम्प विक्रम सम्वत १७३७ सालमा गएको इतिहासविद बताउँछन् । जसले ठूलो विपत् निम्त्याएको थियो । दर्जनौं मानिस मरेका थिए । काठमाडौंलाई नै केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पमा परी राजा श्रीनिवास मल्ल घाइते भएका थिए । तुलनात्मक रुपमा त्यतिबेला धनजनको कम क्षति भएको थियो ।

१८२४ असार १ गते एकैदिन २१ पटक भूकम्पको धक्का महसूस गरियो । यस समयमा भुकम्पको क्षतिबारे रेकर्ड नभएतापनि २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै धनजनको क्षति भएको ठानिएको छ । त्यस्तै विक्रम सम्वत १८६७ जेठ १० गते अर्को भूकम्प गयो । भूकम्पबाट काठमाडौं ललितपुर र भक्तपुरमा घरहरु भत्केका थिए । काठमाडौं र ललितपुरमा ठूलो मानवीय क्षति भएन । यद्यपि धेरै मठमन्दिर भत्किए । भक्तपुरमा निकै मानिसको ज्यान गएको थियो । विक्रम सम्वत १८८० यमपञ्चकका दिन भूकम्प गयो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पु¥यायो । भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए पनि त्यसपछि नेपालमा गएका भूकम्पको तथ्यांक स्पष्ट पाइन्छ । विक्रम सम्वत् १८९० भदौ १२ गते सोमबार साँझ करिब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु र बनेपा नराम्ररी प्रभावित भएका थिए । काठमाडौंमा रहेका दुईवटा धरहरामध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो ।

१८९० कै असोजमा अर्को ठूलो भूकम्प गयो । एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पा¥यो । अघिल्लो वर्षको भूकम्पले लगाएको घाउ सेलाउन नपाउँदै एक वर्षपछि विक्रम सम्वत १८९१ असार र असोजमा फेरि दुई ठूला भूकम्प गए ।
नेपालको भूकम्प इतिहासमा सबैभन्दा विनाशकारी भूकम्प १९९० माघ २ गतेकोलाई मानिन्छ । संखुवासभाको चैनपुर केन्द्रबिन्दु बनाएर गएको ८ं.४ रेक्टर स्केलको भूकम्पले देशलाई नराम्रो असर पारेको थियो । उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६ सय ६९ महिला गरी आठ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो । काठमाडौं उपत्यकामा मात्र करिब चार हजार ५ सय जनाले ज्यान गुमाए । ९५ हजार मानिस घाइते भए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ । काठमाडौं उपत्यका झण्डै तहसनहस भएको थियो । धरहराको आधा भाग त्यतिबेलै भत्किएको हो । घण्टाघर पनि क्षतिग्रस्त भएको थियो । भूकम्पले मुलुकका ९५ प्रतिशत स्थानमा खानेपानी आपूर्ति बन्द भएको थियो । झण्डै ५० प्रतिशत पुल भत्किए । सात लाख बढी मानिस घरबारविहीन भए ।

२०३७ सालमा सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले बझाङसहित सुदूरपश्चिमका बैतडी, बाजुरा र दार्चुला जिल्ला बढी प्रभावित भएका थिए । त्यसबेला करिब २५ सय घर ध्वस्त भए । १ सय २५ जना मानिसले ज्यान गुमाए । २ सय ४८ जना घाइते भए । ११ हजार ६ सय ४ ध्वस्त भएका थिए ।

२०४५ साल भदौ ५ गते बिहान पौने पाँच बजे ठूलो भूकम्प गएको थियो । उदयपुरको मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ६. ७ रेक्टर स्केलको भूकम्पमा ७५० जनाले ज्यान गुमाए । ६ हजार ५ सय भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पु¥यायो भने काठमाडौं उपत्यकामा समेत प्रभाव परेको थियो ।
भूकम्प कसरी जान्छ ?
भूकम्प विज्ञानको गहिराइ (डेप्थ)मा प्रस्ट रुपमा भन्न अलि गाह्रो नै हुन्छ । तैपनि सामान्य अर्थमा, ‘इन्डिया’ साँढे चार सेन्टीमिटरको दरले उत्तरतिर सरिराखेकोे छ । तिव्वतको मुनि उत्तरतिर छिरिराखेको छ । यो प्रक्रियामा हिमाली क्षेत्रमा झण्डै २ सेन्टीमिटरको चाप पर्दछ र त्यहाँको चट्टान खुम्चिन गई शक्ति सञ्चय हुने गर्दछ । वाँकी दुई सेन्टीमिटर उत्तरतर्फको तिव्वततिर जान्छ, त्यहाँपनि चाप पैदा हुन्छ र भूइचालो जान्छ । हाम्रो हिमाली भू–भाग सिमित समयसम्म चाप खप्न सक्छ, चाप बहन गर्न नसकेपछि जमिन सर्छ ।

जुन ‘इन्डियन प्लेट’ उत्तरतिरको माथिल्लोमा भाग चिरा परेको छ, त्यो चिरा परेको ठाँउ भन्दा ठीक तलको भाग तिव्वततिर सर्दा, एक किसिमको दवाव हामी बसेको भूभाग (चिरा परेको मथिल्लो भाग) मा पर्दछ, यसरी लामो समय उत्तरतीरको त्यो चिरा परेको माथिल्लो भागले चाप बहन गर्न नसक्दा बाहिर आइ दक्षिण तिर सर्छ । काठमाडौं १ मिटर ६ दशमल्लव दक्षिणतिर स¥यो भन्नुको तात्पर्य पनि यहि हो । भित्र छिर्न नसक्ने मथिल्लो भाग बाहिर आउँछ र बाहिर आउन नसक्ने भाग भित्रै जान्छ, भित्र जान नसक्ने भाग बाहिर आउनु स्वभाविक हो । यसकारण तराई त्यो तिव्वतीय प्लेट भित्र–भित्र जान्छ, योसँगै ‘इन्डियन भूभाग’ पनि सँगसँगै तिव्वतमुनि छिरिराखेको हुन्छ । अवको २०० मिलियन वर्ष पछि इन्डिया नहुन सक्छ, किनभने यो भित्र छिर्दा छिर्दा, हाम्रो तराईमा इन्डियन ओसन (समुन्द्र) आइसकेको हुन्छ । यो त लामो प्रकृया हो । यसरी चिरा परेको भागबाट बाहिर निस्केको भाग माथितिर आउने प्रकृयाकाकारण भुइचालो जाने हो । त्यो चिरालाई भूगर्व विज्ञानको भाषामा ‘मेन हिमालयन थ्रस्ट’ भनिन्छ ।

‘वार्षिक दुई सेन्टमिटिरको दरले इन्डिन प्लेट तिव्वततिर गइरहेको भन्नुको तात्पर्य, त्यहाँ छिरेको भाग थिचिदै थिचिदै जानु हो । ‘यदि २ सय वर्षमा ४ मिटर खुम्चियो भने, खुम्चिेको ४ मिटर भूभाग चिरा परेको तल्लो भाग तिव्वतिर छिर्छ, यसकारण चिरा भन्दा माथिल्लो भाग विपरीत दिशा (दक्षिण) तर्फ धकेलिन्छ । यसैको परीणाम स्वरुप इन्डियन प्लेट ३ दशमल्लव ६ मिटर सरेको हो ।’ जति लामो समयसम्म २ सेमीका दरले जमिन खुम्चिन्छ, त्यति लामो समयसम्म खुम्चाई बढ्छ । १ हजार वर्षमा २० मिटर, त्यस्तै ५०० वर्षमा १० मिटर, यदि ५०० वर्षमा १० मिटर जमिन खुम्चेर बस्दा, त्यसले दिने भुइचालो पनि उतिकै ठूलो र खतरनाक हुनेछ । १ हजार वर्षसम्म भुइचालो नजानु भनेको २० मिटर सर्ने हो । यसले दिने भुइचाले पनि ठूलै अथवा करीव ८.५ भन्दा बढी म्याग्निच्यूटको भुइचालो जाने सम्भावना हुन्छ ।

Published On:  1194पटक हेरिएको

तपाईको प्रतिक्रिया