बैशाख १२ र भूकम्पीय त्रासदी

1505663_1056708697679741_5781308245236654443_nपुण्य धमला । बैशाख १२ अर्थात नेपाली इतिहासको एउटा कालो दिन । जुन दिन अहिले पनि आम नेपालीको मन मस्तिष्कमा ताजै छ । हुनत, प्रतिकुल मौसमले त्यो दिनको बिनाशलाई संकेत गरेको प्रष्टै हुन्थ्यो । तर मौसमको संकेत बुझ्ने सामर्थ्य कसैको थिएन र भएन पनि ।  मौसम त्यो दिनको मौसम अन्य दिनको भन्दा अलि फरक थियो । गर्मि मौसम भएर पनि शितलताको आभाष दिलाएको थियो बैशाख १२ ले तर यो शितलता लामो समय टिक्न सकेन । अनि शनिबार अर्थात सार्वजनिक विदाका कारण फुर्सदिला बनेका सर्वसाधारणले पनि त्रासदीसँदै फुर्सद पाएनन ।

हो, अहिले पनि आम नेपालीमा २०७२ बैशाख १२ मध्याह्न ११ बजेर ५६ मिनेटबाट सुरु भएको त्रासदी ताजै छ । भूकम्पबाट छाएको सन्नाटा र पीडा अझै थामिएको छैन ।  ७ दशमलब ६ रिक्टर स्केलको भूकम्पले सिंगो राष्ट्र हल्लायो । आधा भू–भागका अधिकांश संरचना माटोमा बिलिन भए । नौ हजार बढी नेपालीले यहि भूकम्पबाट ज्यान गुमाउनुप¥यो भने दुई हजार भन्दा बढी घाइते भए । झन्डै पाँच लाख बढी घर भत्किएको यो बिनासकारी भूकम्पबाट हजारौँ घरबारविहीन बन्न पुगे । गोरखाको ‘बारपाक’ केन्द्रबिन्दु बनाएर गएको यो भूकम्प अर्थात बैशाख १२ नेपालीका लागि कालो दिन सावित भएको छ ।
गोरखा भूकम्पले निकै लामो समयसम्म सर्वसाधारणलाई त्रासदी दियो । महिनौँसम्म सडकको बाँस बस्नुपर्ने बाध्यता आयो । केही ठूला र निरन्तर आइरहेका परकम्पले दिएको त्रासदी अझै बाँकि नै छ ।  ‘गोरखा भूकम्प’ को आइतबार एक वर्ष पुग्दैछ । तर यो भूकम्पपछिका पराकम्प अझै बेलाबेलामा महशुस भइरहेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रको रेकर्डले यो एक बर्षमा ३० हजारभन्दा बढी परकम्प गएको देखाएको छ । यी मध्ये ४ रिक्टर स्केलमाथीका पराकम्प ४ सय ४९ वटा छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांकले नेपालमा विसं १९९४ देखि २०७२ वैशाख १२ को भूकम्पसम्म आइपुग्दा ६० हजारको हाराहारिमा भूकम्प गएको देखाएको छ । जसले आम नेपालीमा बारम्बार त्रासदीको स्मरण गराउने गरेको छ ।
नेपालमा फ्रान्स सरकारको सहयोगमा सन् १९६८ देखि भूकम्प मापन गर्न सुरु गरिएको थियो । नेपालले भूकम्पको जोखिम निक्कै अघिबाट ब्यहोर्दै आएको छ, र पनि भूकम्प मापन गर्ने निकाय खानी तथा भूगर्भ विभागको एक मात्र राष्ट्रिय भूकम्प मापन केन्द्र जनशक्ति र आधुनिक सूचना प्रविधिको अभावमा आफै घाइते छ ।वैशाख १२ को भूकम्पको समयमा १३ प्राविधिक भएको मापनकेन्द्रमा अहिले छ जना कर्मचारि छन् ।

हुनत, प्राविधिक रुपमा देशभर भूकम्पबारे जानकारी सङ्कलन गर्ने २१ साइस्मिक स्टेसन छन् । स्टेसन भएपनि केन्द्रलाई अत्याधुनिक र सुविधायुक्त बनाउन नसक्दा भूगर्भीय अनुसन्धानका काम लथालिंग छन् । हुनत, भूकम्प मापन केन्द्र अहिले काठमाडौँ उपत्यकाको भूकम्पीय जोखिम अध्ययन गर्न जापानी सहयोग नियोगको सहयोगमा तीनवर्षीय परियोजना सुरु गरी तथ्याङ्क लिने काम सकिएको बताइरहेको छ ।  यो अध्ययनले काठमाडौँमा आउन सक्ने ठूला भूकम्पले कहाँ कुन रुपको र कति क्षति गर्छन भन्ने आँकलन गर्न सकिने बताइएको छ । यसले कहाँ कस्तो कम्पन आउछ भन्ने सम्मको जानकारि दिने केन्द्र बताउछ ।
हुनत, भूकम्पबाट नेपाल एक्लै मात्रै प्रभावित भएको छैन् । विभिन्न समयमा विभिन्न राष्ट्रले भूकम्पका कारण ठूलो मानविय तथा भौतिक क्षतिको सामना गर्नु परेको छ । गोरखा भूकम्पपछि नै पनि छिमेकी  भारत, पाकिस्तान, जापान इन्डोनेसिया र चिलीमा ७ रिक्टर स्केलमाथिका भूकम्प गएका छन् । इक्वेडरमा ७ दशमलब ८ र चिलीमा ७ दशमलब ९ रिक्टरको भूकम्प गएपछि क्षति नेपालको जति व्यहोर्नु परेन । भूकम्पसम्बन्धी विश्वका सबैजसो तथ्याङ्क पल्टाउने हो भने बार्षिक रुपमा औसतमा एउटा ८ रिक्टर स्केल माथिको भूकम्प जाने गरेको पाइन्छ । यस्तै, बार्षिक रुपमै ७ दशमलब ९ रिक्टरका १५ र ६ देखि ७ दशमलब ९ कमका १३० को हाराहारिमा भूकम्प गएका पाइन्छ।

भूकम्पलाई स्मरण गर्दा

भूकम्पको इतिहास पल्टाउँदा हालसम्मको सबैभन्दा ठूलो भूकम्प सन् १९६० मा चिलीमा गएको पाइन्छ । जुन भूकम्प ९दशमलब ५ रिक्टर स्केलको थियो । बिश्व इतिहास कोट्याउदा ९ रिक्टरभन्दा माथिका पाँच वटा भूकम्प गएका छन् । यी मध्ये पनि चार वटा भूकम्प प्रशान्त महासागर आसपासको कन्द्रबिन्दुबाट गएका छन् ।

नेपालमा विसं १९९० को महाभूकम्पपछि ठूलो भूकम्पका रुपमा गत बर्षको वैशाख १२ को ‘गोरखा भूकम्प’ लाई मानिएको छ । यो बिचमा विसं २०४५ मा उदयपुर केन्द्रबिन्दु बनाएर ६दशमलब ७ रिक्टर स्केलको भूकम्प गयो । हुनत, ४५ सालको भूकम्पले पनि देशमा ठूलो भौतिक तथा आर्थिक क्षति सहितको भार बोकायो । यो भूकम्पमा परि ७सय २१ जना नेपालीले ज्यान गुमाए ।
यसअघि, सङ्खुवासभालाई केन्द्रबिन्दु बनाई १९९० सालमा गएको ८दशकलब३ रिक्टर स्केलको महाभूकम्पले देशलाई सबैभन्दा ठूलो क्षति ग¥यो । यो भूकम्पमा आठ हजार ५ सय १९ जनाले ज्यान गुमाउनुप¥यो भने यो भूकम्पको क्षति भारतको बिहार राज्यले पनि ब्यहोर्नुपरेको थियो ।  ऐतिहासिक रुपमा हेर्दा नेपालमा विसं १३१२ मा महाभूकम्प र त्यसको झन्डै ६०० वर्षपछि अर्को महाभूकम्प गएको देखिन्छ । मध्य क्षेत्रमा करिब २०० वर्षको हाराहारीमा ठूलो भूकम्प गएको छ । यस्तै, पश्चिमाञ्चल क्षेत्रमा विसं १५०५ मा ठूलो भूकम्प गएको थियो ।

किन बढ्दै छ भूकम्पको त्रासदी ?

भूगर्भविद्को भनाईलाई पत्याउने हो भने जमिनको सतहभन्दा धेरैमुनि रहेको इन्डियन प्लेट युरोसियन प्लेटको मुनि क्रमशः सरिरहेको छ । यो प्रक्रियाले चुरेदेखि करिब १०० किमी उत्तरसम्म रहेका हिमालय क्षेत्रमा पर्ने इन्डियन प्लेटलाई अवरोध गर्छ, यहि प्लेट सर्ने क्रम बढ्दैगर्दा प्रतिवर्ष २ सेन्टिमिटर जमिनको भाग अर्को प्लेटतर्फ धकेलिरहेको बताइन्छ ।

यसरी प्लेट सर्ने क्रममा शक्ति सञ्चय हुँने र सर्नमा देखापर्ने अवरोधले प्लेट खुम्चिने गरेको बताइन्छ ।  यो प्रक्रियाबाट सञ्चित हुन आउने केही शक्तिले हिमालयको स्थायी रुपमै उचाइ वृद्धि गर्ने र दबाब तिब्र बन्दा भूकम्प जाने गरेको बताइन्छ । यसरी हुने प्लेटको चक्रिय प्रणाली हेर्दा सबैभन्दा बढी जोखिम प्लेटको सिमाना रहेको दुई हजार ५०० किमी हिमालय क्षेत्रमा पर्ने अफगानिस्तानदेखि म्यानमासम्मको पृथ्वीको भूखण्डको करिब दुई तिहाइ क्षेत्रलाई मानिन्छ । बसोबासका हिसाबले हेर्दा भूकम्पीयय जोखिम क्षेत्रमा करिब एक अर्ब मानिस बसोबास गरिरहेका छन् ।
हुनत, अझसम्म भूकम्प कहिले कुन अवधिमा कसरी जान्छ भनेर हालसम्म कुनै वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया