प्रान्तीय, स्थानीय र केन्द्रीय निर्वाचन छिट्टै : नेता नेपाल

काठमाडौँ–वैशाख ११।एमाले बरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय निकाय निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।11
एमाले नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता नेपालले निर्वाचन नहुँदा विकास निर्माणको काम अगाडि बढ्न नसकेको र भ्रष्टाचार मौलाएको भन्दै  त्यसलाई नियन्त्रण गर्न निर्वाचन जरुरी रहेको बताउनुभएको हो । स्थानीय निकायमा ४० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएका कारण एमालेका हरेक कमिटीमा महिलालाई उचित स्थान दिइने नेता नेपालको भनाइ थियो ।

प्रान्तीय, स्थानीय र केन्द्रीय निर्वाचन गरेर संविधानको पूर्ण कार्यान्वयन गरिने भन्दै उहाँले त्यसका लागि एमालेले पूर्ण तयारी थाल्नुपर्ने बताउनुभएको थियो  । स्थानीय निकायमा जाने बजेटको सदुपयोग गर्न र जनपक्षीय काम गर्न आग्रह गर्दै नेता नेपालले अन्य दलले गर्ने गलत काम र प्रवृत्तिको भण्डाफोर गर्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।
रसुवा– केरुङ सडकखण्डको स्तरोन्नति र चिनियाँ रेल समेत यहि जिल्ला भएर आउने तथा पेट्रोलियम पदार्थको भण्डारणका लागि नुवाकोट छानिएको भन्दै अब नुवाकोटले नयाँ विकासको गति पाउने बताउनुभयो । पार्टीलाई एकताबद्ध बनाएर देशको आर्थिक विकासको नेतृत्व लिन नेता तथा कार्यकर्ताले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने नेता नेपालको धारणा थियो ।

तपाईको प्रतिक्रिया