काठमाडौं–वैशाख १० – आगामी आइतबारदेखि काठमाडौंस्थित रानीपोखरीको पुनर्निर्माण सुरु हुँदैछ ।
गत वैशाखको विनाशकारी भूकम्पका कारण पोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिर पूर्णरुपमा क्षति भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार झन्डै ३ सय ५० वर्षपछि बालगोपालेश्वर मन्दिरसँगै सिंगो रानीपोखरीलाई सुन्दर बनाउने अभियान सुरु हुनेछ । अभियानअन्तर्गत लामो समयसम्म सफा हुन नसकेको पोखरीमा रहेको हिलो फालिनेछ, र वरपरको संरचना तथा पूर्वाधारमा समेत सुधार गरिने छ ।
महानगरपालिका अहिले पोखरीमा रहेको हिलोको तह पत्ता लगाउन र जनशक्तिको संख्या एकिन गर्न लागिपरेको छ । रु १२ करोडको अनुमानित बजेट विनियोजन गरि पुनर्निर्माणको अभियान सुरु हुन लागेको हो । गत माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुगेर पुनर्निर्माण अभियानको थालनी गरिसक्नुुभएपनि काम सुरु भएको छैन् ।
रानीपोखरीको नाममा झन्डै ६० रोपनी जग्गा रहेकोमा ४० रोपनी पोखरीले ओगटेको छ । पोखरीको नाममा रहेको सबै जग्गाको उचित सदुपयोग र पूर्वाधार सहितको नयाँ विकास सहित महानगरपालिका अघि बढ्ने योजनामा छ ।