काठमाडौँ–वैशाख ८ । सरकारले गोरखा भूकम्प गएको दिन अर्थात वैशाख १२ गते देखि भूकम्प प्रभावित जिल्लामा आवास, विद्यालय, स्वास्थ्य संस्था र पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माणको काम शुभारम्भ गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्प प्रभावित प्रत्येक जिल्लामा कम्तीमा एक्एक वटा सामुदायिक आवास भवनको निर्माण कार्य शुभारम्भ गर्ने निर्णय गरेको हो । योसँगै, प्रत्येक जिल्लामा कम्तीमा एक्एक वटा स्वास्थ्य संस्था भवनको पुनःनिर्माण कार्यको शुभारम्भ स्वास्थ्य मन्त्रालयले गर्ने गरि तयारी थालेको जनाएको छ ।
काठमाडौँ उपत्यकाभित्रका खड्ग योगिनी मन्दिर साँखु, अनन्तपुर, स्वयम्भूनाथ, वंशगोपाल मन्दिर, हनुमान ढोका, फसी देगः, मणिमण्डप जस्ता ऐतिहासिक एवम् पुरातात्विक सम्पदाको पुनःनिर्माण कार्य पुरातत्व विभागको बैशाख १२ बाटै सुभारम्भ गर्ने जनाएको छ ।
प्राधिकरणको कार्यकारी समितिले स्वीकृत गरेको लाभग्राहीको सूची यथाशक्य छिटो सार्वजनिक गरी वैशाख १२ गतेदेखि अनुदान सम्झौता प्रक्रिया अघि बढाउने तयारी प्राधिकरणको छ । प्राधिकरणले गत फागुन ३० गतेदेखि भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणका लागि सरकारले दिने अनुदान सहयोग जनतालाई उपलब्ध गराउन थालेको हो । दोलखा जिल्लाको सिंगटीे स्रोत केन्द्रबाट लामिडाँडा र लादुक गाविसका जनतालाई अनुदान दिन सुरु गरिएकामा ६४१ घरधनीसँग अनुदान सम्झौता भइसकेको छ ।
प्राधिकरण वैशाख १२ अघि नै काठमाडौँ उपत्यकाबाहेकका आठवटा जिल्लामा अनुदान सम्झौता गर्ने गृहकार्यमा जुटेको छ । भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन कार्यक्रमअन्तर्गत सञ्चालित सर्वेक्षणअनुसार अहिलेसम्म भूकम्पबाट क्षति भएका पाँच लाख ९१ हजार घरको सर्वेक्षण भइसकेको प्राधिकरणले जनाएको छ । प्रतिवेदनअनुसार २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट चार लाख ९८ हजार ६९७ निजी घर पूर्णरुपले क्षति भएका थिए भने दुई लाख ५६ हजार ६९७ घर आंशिक रुपमा क्षति भएका थिए । सर्वेक्षणका लागि करिब एक हजार ६०० इन्जिनियर भूकम्प प्रभावित क्षेत्रमा खटिएको र मुख्य नेतृत्व केन्द्रीय तथ्याङ्क विभागले गरेको थियो ।
काठमाडौँको रानीपोखरी र धरहराको पुनःनिर्माण प्रक्रिया सुरु भइसकेको छ । रानीपोखरीको पुनःनिर्माणका लागि बोलपत्र आह्वान भई काम अघि बढेको र धरहरा पुनःनिर्माणको काम अघि बढाउन सर्वसाधारणलगायत सबैको सहयोगका लागि राष्ट्रिय वाणिज्य बैंकमा धरहरा पुनःनिर्माण कोषको खाता खोलिएको छ ।
प्राधिकरणका अनुसार भवन निर्माणका लागि सहरी विकास मन्त्रालयमा, पुरातत्वसम्बन्धी पुनःनिर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, विद्यालय भवन निर्माणका लागि शिक्षा मन्त्रालयमा, स्वास्थ्य संस्था भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयमा र गाविस भवन निर्माणका लागि स्थानीय विकास मन्त्रालयमा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ स्थापना गरिएको छ ।