शिक्षा समय अनुसार सुधार हुन नसकेको प्रधानमन्त्री ओलीको स्विकार

पोखरा–वैशाख ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको भन्दै राष्ट्रिय समृद्धि र विकासका लागि लागि शिक्षाको समयसापेक्षे सुधार आवश्यक रहेको बताउनुभएको छ ।
पोखरा विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले शिक्षा भ्रष्टाचाररहित, अनुशासित र मर्यादित बनाउने बताउनुभयो । प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीले समाज र राष्ट्रका लागि योगदान गर्नुपर्ने भन्दै समाजका प्रत्येक वर्ग र समूदायका व्यक्तिले सहज रुपमा शिक्षा प्राप्त गर्न सक्ने अवश्थाको सिर्जना गरिने बताउनुभयो । पोखरा विश्वविद्यालयले अघि सारेका रणनीतिक योजना र लक्ष्यलाई नयाँ परिस्थितिमा अझ बढी परिष्कृत र व्यवहारिक तुल्याउनेतर्फ सरकारले सहयोग गर्ने उहाँको बचन थियो । पोखरा विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोहबाट विभिन्न तह र विषयका चार हजार ४९३ जना विद्यार्थी दीक्षित भएका थिए । दीक्षान्त समारोहबाट १२ औँ दीक्षान्त समारोहपश्चात २०७२ चैत मसान्तसम्म ‘ट्रान्सक्रिप्ट’ लिएका विद्यार्थीलाई विश्वविद्यलायले दीक्षित गरेको हो ।
शिक्षामन्त्री एवम् विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयले समयसापेक्ष अनुसन्धानात्मक शिक्षामा जोड दिँदै नियमित शैक्षिक पात्रोको प्रभावकारी कार्यान्वयन गर्ने बताउनुभयो । व्यवहारिक र जीवनोपयोगी शिक्षा वर्तमानको आवश्यकता भएको भन्दै उहाँले विश्वविद्यालयले प्रविधियुक्त र सीपमूलक शिक्षाका माध्यमबाट राष्ट्रको समृद्धि र विकासका लागि योगदान गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रकवि माधब घिमिरेले विश्वविद्यालय विस्तारसँगै दक्ष जनशक्ति उत्पादन भइरहे पनि देशमा रहेको अपार प्राकृतिक स्रोतको उपयोग हुन नसकेको बताउनुभयो । उहाँले नेपालको समृद्धिका लागि विद्यमान जल, वन सम्पदा आदिको संरक्षणका साथै पर्यटन र जलविद्युत् जस्ता सम्भावनाको विकास गरिनुपर्ने बताउनुभयो । विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्माले विश्वविद्यालयलाई शैक्षिक एवम् स्वस्थ र विकसित पर्यटनको विकास र प्रवद्र्धन गर्ने कार्यमा एक नेतृत्वदायी भूमिका खेल्ने शैक्षिक संस्थाका रुपमा विकास गर्ने सोच राखिएको बताउनुभयो ।
समारोहमा कम्प्युटर एप्लीकेसन स्नातक तहमा सबैभन्दा उत्कृष्ट अङ्क ल्याउने महेश श्रेष्ठलाई ‘ओकेम स्वर्ण पदक’ व्यवस्थापन प्रशासन स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भावना पराजुलीलाई लक्ष्मी ‘विद्या पदक’, स्नातक तहमा सर्वोत्कृष्ट अनमोल पाण्डेलाई ‘उपकुलपति’ पदक र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अरुणिमा श्रेष्ठलाई ‘कुलपति’ पदकबाट सम्मान गरिएको थियो ।

Published On:  508पटक हेरिएको

तपाईको प्रतिक्रिया