काठमाडौँ–बैशाख ७ । स्पोर्टस फर अल क्लब नेपाल र राष्ट्रिय खेलकुद सङ्घको सयुक्त आयोजनामा आगामी वैशाख १८ देखि २५ गतेसम्म तेस्रो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ ।
इलामको फिक्कलस्थित करफोक फुटबल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका १० टोलीको सहभागिता रहने स्पोर्टस फर अल क्लबले जनाएको छ । गत वर्षको वैशाखमा हुने भनिएको यो प्रतियोगिता विनाशकारी भूकम्पका कारण रोकिएको थियो । प्रतियोगितामा मोरङ ११, त्रिवेणी युथ क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, शसस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चल फुटबल टोली, ताप्लेजुङ ११, मकवानपुर ११ फुटबल टोली र इलाम ११ फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, भारतबाट कञ्चनजङ्गा फुटबल क्लब सिलुगुडी, दार्जलिङ ११ र सारे फुटबल क्लब कालिङपोङ सहभागी हुँने बाइएको छ । तालिकाअनुसार वैशाख १८ गतेको उद्घाटन खेल दार्जलिङ ११ र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले रु एक लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु ५० हजार पाउनेछन् । यसअघि पहिलो र दोस्रो संस्करणको खेल क्रमशः जनकपुर र इलाममा सम्पन्न भएको थियो ।