महोत्तरी–बैशाख ५ । सिँचाइ मन्त्री उमेश यादवले महोत्तरीको बर्दिवासस्थित रातुखोलामा सञ्चालित क्रसर उद्योग तत्काल हटाउन प्रमुख जिल्ला अधिकारीसहित मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
महोत्तरीको रातुनदीमा निर्माण भइरहेको जनताको तटबन्धको आइतबार अनुगमन गर्नेक्रममा सिँचाइ मन्त्री यादवले प्रजिअ वीरेन्द्रकुमार यादवलाई टेलिफोन गरि अवैधरुपमा नदीका छेउमा सञ्चालित क्रसर उद्योग तत्काल हटाउने निर्देशन दिनुभएको हो । रातुनदीमा निर्माण हुँदै गरेको तटबन्धनलाई प्रत्यक्ष असर पार्ने भन्दै पुल आसपास र खोला क्षेत्रमा सञ्चालनमा रहेका क्रसर हटाउन मन्त्री यादवले निर्देशन दिनुभएको मन्त्री निकट श्रोतले जनाएको छ ।
जवाफमा प्रजिअ यादवले हटाउनका लागि कारबाही प्रक्रिया अगाडि बढाएपछि घरेलु तथा साना उद्योग सञ्चालन गर्न पाउने भनी पत्र आएपछि प्रक्रिया रोक्नु परेको र अब तत्काल हटाउने प्रक्रिया थाल्ने बताउनुभएको थियो । घटना बारे बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा जानकारीसहितको पत्र पठाएको मन्त्री यादवलाई प्रजिअले जानकारी दिनुभएको मन्त्री यादवका प्रेस सल्लाहकार सुरेशकुमार यादवले बताउनुभयो ।
क्रसरले पुल आसपासबाट अवैधरुपमा बालुवा, गिट्टी, ढुङ्गा उत्खनन गरेका कारण पूर्व–पश्चिम राजमार्ग जोड्ने रातुनदीको पुल जोखिममा रहेको छ । यस्तै क्रसरले वरिपरिको क्षेत्रमा असर गर्नुका साथै पुल भासिँदै गएको छ ।