१५ सदस्यीय एमाले टोली चीनमा

काठमाडौँ–बैशाख ५। प्राज्ञिक आदानप्रदानका लागि नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय टोली चीन प्रस्थान गरेको छ ।
चीनको छेन्दुस्थित सिचुवान विश्वविद्यालयको निमन्त्रणामा गएको टोलीले दुई देशको बीचमा जनता जनताबीचको संवादको निरन्तरता र पार्टी बीचको सहकार्य तथा शैक्षिक एवम् प्राज्ञिक सहकार्यको काम गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
भ्रमणका समयमा आपसी प्रशिक्षणसम्बन्धी सम्झौता  र विश्वविद्यालयका पदाधिकारीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइने बताइएको छ ।  एमालेको केन्द्रीय स्कुल विभागले सञ्चालन गर्ने पार्टी स्कुलको कार्यालयसमेत रहेको तुल्लीलाल स्मृति प्रतिष्ठानका पदाधिकारीसहित सो टोली चीन प्रस्थान गरेको हो । दस दिनसम्मका लागि भन्दै चीन गएको टोलीमा माधव पौडेल, कृष्णलाल महर्जन, बाबुराम थापालगायत १५ जना रहेका छन् ।
गत महिना चीनको औपचारिक भ्रमणका समयमा एमाले अध्यक्ष, पार्टी स्कुल विभाग प्रमुख समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली समेत छेन्दुस्थित सिचुवान विश्वविद्यालय पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया