काठमाडौं–बैशाख ४ । सेतो मच्छिन्द्रनाथको रथयात्रा लगनटोलमा पुगेर समापन नजिक पुगेको छ । आइतबार साँझ लगनमा रहेकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा समापन हुनेछ ।
सेतो मच्छिन्द्रनाथको जात्रालाई महत्वपूर्ण संस्कृतिका रुपमा हरेक बर्ष तामझामका आयोजना गरिन्छ । बिहिबार सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि जात्रा सुरु भएको थियो । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट समेत चिनिने मच्छिन्द्रनाथको रथयात्रा इन्द्रचोक, हनुमानढोका, जैसीदेवल हुँदै लगनस्थित मच्छिन्द्रनाथकी आमाको रहेको मन्दिर परिसर पु¥याइएको छ । विधिविधानसहित आमाको दर्शन गराएर पुनः जनबहालमा मूर्ति लगेपछि जात्रा समापन गर्ने परम्परा छ ।
बर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिलाई रथारोहण गराई उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउने परम्परा छ । किम्बदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेको र उक्त मूर्ति लुकाइ राखेको धानको भकारीबाट धान झिक्दा कहिल्यौ नसकिएपछि अन्नदाताका रुपमा जनबहालमा स्थापना गरिएको पाइन्छ । मूर्ती फेला परेकै स्थान जमलमै रथ बनाएर जगर परिक्रमा गराउने परम्पराले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ ।
जात्रा समापन भएपछि पानी पर्ने र अन्नबाली फस्टाउने जनविश्वास पनि यो जात्रासँग जोडिएको छ ।