काठमाडौं–बैशाख ३ । हरेक आर्थिक वर्षको जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुरुप सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको काम शुरु गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार यसवर्षको बजेट समृद्धिको आधार वर्षका रुपमा र संघीयता कार्यान्वयनका लागि समेत केन्द्रीत रहनेछ । यसपालीको बजेट अघिल्ला वर्षको निरन्तरता मात्रै नहुने सरकारी भनाई छ । अर्कोतर्फ विज्ञहरुले पनि संविधान जारी भइसकेपछि संविधान कार्यान्यवन र भुकम्पपछिको आर्थिक समृद्धिमै यसपालीको बजेट केन्द्रीत हुनुपर्ने बताउँछन् । सरकारले बजेट सार्वजनिक भइसकेपछि गुनासो गर्ने मात्रै नभएर बजेट निर्माणकै क्रममा सुझाव दिन पनि सरोकारवाला निकायलाई आग्रह गरेको छ । विकासका लागि विनियोजन गरिएको खर्च समयमा हुन नसक्नु नेपाली अर्थतन्त्रको प्रमुख समस्याका रुपमा रहेको छ । चालू आर्थिक वर्षमा पनि अर्थतन्त्र त्यही समस्यामै रहेको छ । खर्च गर्न सक्ने क्षमताको समेत विकास गर्नेगरी बजेट आएन भने बजेट विनियोजन गरेर मात्रै समस्याको समाधान हुन नसक्ने विज्ञहरुको भनाइ छ ।