मुगु–वैशाख २ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस सत्ता बाहिर रहँदा संविधान कार्यान्वयनमा कठिनाइ आएको भन्दै प्रमुख दलको सहभागिता र समझदारीमा राष्ट्रिय सरकार बनाउन पहलकदमी भूमिका खेल्ने बताउनुभएको छ ।
पार्टीको बिहिबार गमगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले स्व. गिरिजाप्रसाद कोइरालको निधनपछि राजनीतिक अविभावकको जिम्मेवारी आफूमा आएको बताउँदै देशलाई निकास दिन राजनीतिक सहमति खोज्न भूमिका खेल्ने बताउँनुभएको हो । उहाँले वर्तमान सरकार गिराएर आफ्नो नेतृत्वमा सरकार बनाउने खेलमा भने आफू नरहेको स्पष्ट पार्नुभएको थियो ।
भूकम्प र नाकाबन्दीको समयमा राजनीतिक दलले कसैको घेराबन्दी र धम्कीमा नपरी एक जुट भई राष्ट्रिय एकता प्रदर्शन गर्दा विश्व नै चकित परेको भन्दै दाहालले यो सहमति र एकता राष्ट्र निर्माणमा सदुपयोग गर्ने दाबी गर्नुभयो । प्रमुख सत्ता साझेदार तथा उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहुनभएका अध्यक्ष दाहालले नयाँ संविधान घोषणा भएपछिको पहिलो बजेट, नीति तथा कार्यक्रम समयमै आउने बताउनुभयो ।
राजधानी फर्केलगत्तै रारा बृहत विकास पर्यटन बोर्ड गठन गर्ने, ६ नं प्रदेशको आर्थिक नाकाको रुपमा रहेको नाक्चे–लाग्ना–मुगु–चीन सडक तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी बजेटको व्यवस्था मिलाउने, खडेरी विशेष कार्यक्रम ल्याउने र जनताले फरक अनुभूति गर्न सक्ने खालका कार्यक्रम समावेश गर्ने गरी बजेट तयार गर्न पहल गर्ने दाहालको प्रतिबद्धता थियो ।
कार्यक्रममा स्थानीय नेता तथा बुद्धिजिविहरुले सुदुर पश्चिमको विकास निर्माणमा आवश्यक बजेट पार्न सुझाब दिएका थिए ।