काठमाडौं–बैशाख २ । बेपत्ता छानबिन आयोगले आजदेखि पीडितहरूबाट सार्वजनिक रूपमा उजुरी लिने भएको छ । आयोगले गरेको तयारी अनुसार पीडितहरूबाट विभिन्न समयमा भएका घटनाको उजुरी लिने भएको हो । मेलमिलाप आयोगले पनि अबको केही दिनमै उजुरी संकलन गर्ने तयारी गरिरहेको छ । दुवैको उजुरी लिने काम भने जिल्ला–जिल्लाका शान्ति सचिवालयले नै गर्नेछन् । आवश्यक संख्यामा कर्मचारी नभएकाले दुवै समितिले देशभर गठन भएका स्थानीय शान्ति समितिको सचिवालयमार्फत उजुरी संकलन गर्न लागेका हुन् । उजुरी संकलन गर्ने मामिलामा स्पष्ट हुन चैतको २६ र २७ गते शान्ति समितिका सचिवहरूलाई तालिम पनि दिइएको थियो ।
काठमाडौं उपत्यकाका तिनै जिल्लाहरूबाहेक पीडितले आयोगमा सीधै गएर पनि उजुरी दिन सक्नेछन् । सरकारले गठन भएको १४ महिनासम्म पनि नियमावली पारित नगर्दा दुवै आयोगले उजुरी संकलन गर्न पाएका थिएनन् । देशभरबाट प्राप्त उजुरीपछि त्यसको अनुसन्धान गर्ने, दोषीमाथि कारबाहीको सिफारिस गर्ने, पीडितलाई क्षतिपूर्ति र परिपुरणका लागि सरकारसमक्ष सिफारिस गर्नेलगायत काम दुवै आयोगले गर्नेछ ।
सत्य निरूपण तथा मेलमिलाप आयोगले मारिएका, घाइते पारिएका, अपहरण गरिएका र अरू यस्तै खालका मानवअधिकारका गम्भीर उल्लंघनका घटनाहरू हेर्नेछ भने बेपत्ता आयोगले बेपत्ता भएका व्यक्तिहरूको सूची बनाउने, उजुरी लिने, अनुसन्धान गर्ने र घटनाको सत्यतथ्य पत्ता लगाई स्थिति सार्वजनिक गर्नेछ ।