यसरी वित्यो बर्ष २०७२

शिवहरि घिमिरे ,

काठमाडौं– बैशाख १, २०७३ । यो बर्ष संविधान जारी हुनुलाई ठूलो उपलब्धिको रुपमा लिइन्छ । संविधान जारी भएतापनि यो बर्ष प्राकृतिक प्रकोप, नाकाबन्दी, मधेश आन्दोलन, ले गर्दा खासै उपलब्धीमुलक हुन shivaसकेन । २०७२ सालमा बढ्दो भ्रष्टाचार, कालोबजारी, महंगी, सडक दुर्घटना, हवाई दुर्घटना लगायतका घटनाहरुले गर्दा नेपाली जनताले शान्तिको आभाष गर्न पाएनन् । बर्ष २०७२ मा घटेका केही चर्चित घटनाहरुको सेरोफेरामा रहेर शिवहरि घिमिरेले तयार पारेको सामाग्री यहाँ प्रस्तुत गरिन्छ ः
प्राकृतीक प्रकोप
भूकम्प, संविधान, नाकाबन्दी, मधेश आन्दोलन लगायतका घटनाले २०७२ साल मुलुकका लागि इतिहासमै सबैभन्दा बढी उथलपुथल भएको वर्ष बन्यो । यस वर्षको सुरु मै वैशाख १२ गते मध्याह्न करिब ११ बजेर ५६ मिनेट जाँदा गएको ७.८ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय र भौतिक क्षति र्पुयायो । भूकम्पबाट आठ हजार ८५६ जनाको ज्यान गयो भने २२ हजार मानिसहरु घाइते भए । त्यसमध्ये केहि व्यक्तिहरु अपाङ्ग समेत बन्न पुगे । नेपाली जनताको लागि २०७२ साल कहाली लाग्दो बन्न पुग्यो । नेपाली जनताले कल्पना गर्ने नसक्ने खालका घटनाहरु ०७२ सालमा सामना गर्नुपर्‍यो ।
संविधान जारी
यो बर्ष नेपाली जनताको बर्षौदेखिको सपना पूरा भएको छ । भदौ ३० गते संविधानसभाबाट दुई तिहाइभन्दा बढी बहुमतले पारित नेपालको संविधान असोज ३ गते राष्ट्रपति डा रामवरण यादवद्वारा घोषणा भएको थियो । त्यस्तै नेपाली जनताको बर्षौदेखिको सपना पूरा हुँदा नोपालको संविधानप्रति भारतले असन्तुष्ट जनाउँदै नाकाबन्दी गर्‍यो ।
राजनीतिक उथलपुथल
विसं २०७२ सुरुवातसँगै वैशाख २ गते पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भयो । त्यस्तै पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको ७६ वर्षको उमेरमा माघ २६ गते आफ्नै निवास, महाराजगन्जमा असामयिक निधन भयो । यो घटनाले सबैलाई निराश र दुःखी बनायो । यो वर्ष मुलुकको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको फागुन २० देखि २४ सम्म राजधानीमा सम्पन्न १३औँ महाधिवेशनले सभापतिमा शेरबहादुर देउवालाई निर्वाचित गर्‍यो । त्यस्तै पूर्वसभापति सुशील कोइरालाको निधनपछि रिक्त काँग्रेस संसदीय दलको नेतामा पनि देउवा नै निर्वाचित भए ।
सरकार परिवर्तन
नेपालको संविधान जारी भएलगत्तै मुलुकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एकीकृत नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक लगायत दलको संयुक्त सरकार बन्यो । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस प्रमुख प्रतिपक्षमा बस्यो । नयाँ संविधानअनुसार भएको राष्ट्रपतिको निर्वाचनबाट मुलुकले पहिलो महिला राष्ट्रपति र पहिलो महिला सभामुखसमेत पायो । राष्ट्रपतिमा विद्यादेवी भण्डारी र सभामुखमा ओनसरी घर्ती निर्वाचित भए । यस वर्षको अन्तिममा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ उमेर हदका कारण अवकाश हुने मिति नजिकिँदै गर्दा मुलुकले पहिलो प्रधानन्यायाधीशका रुपमा सुशीला कार्कीलाई पाउने निश्चित पनि भयो ।
नाकाबन्दी र मधेश आन्दोलन
यो बर्ष संविधान जारी भएपछि नेपाली जनताले झन्डै सात महिना लामो नाकाबन्दी व्यहोर्नु प¥यो । संविधानका केही विषयमा असन्तुष्टि जनाउँदै संयुक्त मधेसी मोर्चाले तराई मधेस ठप्प पा¥यो भने भारतले दक्षिणी सिमानामा नाकाबन्दी ग¥यो । मुलुकमा इन्धनलगायत अत्यावश्यक वस्तुको हाहाकार मच्चियो ।
 ‘ह्यारी’को नेपाल भ्रमण
चैत ६ देखि बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’को नेपाल भ्रमण भयो । बेलायती शाही परिवारका सदस्यले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएकोे २०० वर्ष पुगेको अवसर पारेर नेपालको औपचारिक भ्रमण गरेको हो ।
  प्रधानमन्त्रीको भारत र चीन भ्रमण
नेपालको संविधान जारी भएपछि भारतले गरेको नाकाबन्दी र दुई छिमेकी मुलुकसँगको सम्बन्त्र सुदृढ पार्नको लालि प्रधानमन्त्री केपी शर्मा ओलीको फागुन ७ गतेदेखि भएको भारत भ्रमणमा गए । त्यस्तै चैत ७ गते एकहप्ते चिन भ्रमणमा गएका थिए । प्रधानमन्किो भ्रमणका क्रममा दुवै छिमेकी मुलुकसँग भएका पारवहन सम्झौता मुलुकका लागि ऐतिहासिक बन्ने अनुमान गरिएको छ ।
खेलकुद प्रकरण र नयाँ फड्को
निकै लामो सयमको प्रतीक्षापछि नेपाली फुटबल खेलमा नयाँ आयाम थपियो । अखिल नेपाल फुटबल सङ्घ एन्फा विवाद, म्याच फिक्सिङ लगायतका प्रकरणमा मुछिएको नेपाली फुटबलले २३ वर्षपछि दुईवटा महत्वपूर्ण सफलता हात पारेको छ । यसै वर्ष बङ्गलादेशमा सम्पन्न बङ्बन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली टोलीले त्यसको केही समयपछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक हात पा¥यो । त्यसैगरी बङ्गलादेशमा नै सम्पन्न उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगितामा पनि नेपाली टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै दोस्रो चरणमा पुग्न सफल भयो ।
दुःखद विमान दुर्घटना
यो वर्ष हवाई यातायतका क्षेत्रमा दुःखद रह्यो । फागुन १२ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको विमान म्याग्दीमा दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको निधन भयो । यसै वर्ष नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डपको विमान कालीकोटमा दुर्घटना हुँदा चालकद्वयले आफू मरेर नौजना यात्रुको ज्यान जोगाए ।

महिला शक्तिको उदय
संविधान जारी गरिएपछि नेपालको इतिहासमा पहिलो पटक नेपाली महिलालाई सम्माननीय हुने अवसर मिल्यो । एमाओवादीकी नेतृ ओनसरी घर्ती मगर सभामुख बनिन् र नेपालको पहिलो महिला सभामुख बन्न पुगिन् । त्यस्तै नेपालको इतिहासमै पहिलो पटक महिला राष्ट्राध्यक्ष बन्ने अवसर पनि मिल्यो । एमालेकी तत्कालिन उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भइन् । त्यस्तै ७२ सालमा नै सुशीला कार्कीलाई प्रधानन्यायाधीश हुने ढोका खुल्यो ।

तपाईको प्रतिक्रिया