काठमाडौँ–चैत ३० । नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले नेपाल चीनबीच भएका महत्वपूर्ण सहमति र सम्झौताको व्यवहारिक कार्यान्वयनका लागि नेपाली पक्षले राजनीतिक इच्छाशक्ति देखाउनुपर्ने बताउनुभएको छ ।
चीनका सर्वोच्च नेता स्वर्गीय तङ् स्याओपिङ्को नेपाली भाषामा अनुवादित जीवनीको विमोचन कार्यक्रममा चिनियाँ राजदूत ऊ चुन्ताईले प्रधानमन्त्री ओलीको भ्रमणमा भएका सम्झौताको कार्यान्वयनमा नेपाली पक्ष बढी जिम्मेवार हुनुपर्ने बताउनुभएको हो । राजदुत चुन्ताईले नेपाली प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट दुई देशबीचको संबन्ध प्रगाढ बनेको भन्दै द्धिपक्षिय सहमति र सम्झौता कार्यान्वयनका लागि कदम चालुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चैत ७ देखि १४ गतेसम्म गरेको चीनको औपचरिक भ्रमणका क्रममा दुई देशबीच पारवहन यातायात सम्झौता, स्वतन्त्र ब्यापार सम्झौता गर्न संयुक्त सम्भाव्यता अध्ययन लगायत बिभिन्न १० बिषयमा समझदारी र सहमतिमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपालले भारतको समुद्रि मार्ग हुंदै तेश्रो देशसँग ब्यापार गर्ने बाटोसँगै चीनसँग भएको पारवहन सम्झौताले नेपाललाई चीनबाट समेत तेश्रो देशसँग दिर्घकालीन ब्यापार गर्न बाटो खोलिदिएको छ । कार्यक्रममा उपप्रधान तथा समाज कल्याणमन्त्री सिपी मैनालीले चीन विश्वको पहिलो आर्थिक शक्तिकेन्द्रका रुपमा उदाउने क्रममा रहेकाले चीनले कसरी विकासमा फड्को मार्यो भन्ने जान्नका लागि पुस्तक निकै उपयोगी रहेको बताउनुभएको थियो ।
कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले प्रधानमन्त्रीको चीन भ्रमण दुई देशबीचको संबन्ध विस्तारमा महत्वपूर्ण भएको बताउनुभयो । अर्थविद् मदन कुमार दाहालले चीनले अघि सारेको ‘वान बेल्ट वान रोडु अवधारणमा सहकार्य गरी नेपालले प्रचुर फाइदा लिनुपर्ने धारणा राख्नुभएको थियो । पुस्तक चीन अध्ययन केन्द्रले अनुवाद गरी बजारमा ल्याएको हो ।