डोल्पा– चैत २८ । चिसो बढेसँगै गत मङ्सिर महिनादेखि बन्द भएका उपल्लो डोल्पाका विद्यालय गर्मीयाम सुरु भएसँगै खुल्न थालेका छन् । मंसिरमा वार्षिक परीक्षा सकाएर जाडो छल्न बेंसी झरेका शिक्षक तथा विद्यार्थी गाउँ फर्किन थालेपछि विद्यालय पनि खुल्न सुरु गरेका हुन ।
उपल्लो डोल्पामा कात्तिक महिनादेखि नै भारी हिमपात सुरु भई चिसो अत्यधिक बढेपछि मंसिरदेखि नै विद्यालय बन्द हुने गरेको जिल्ला शिक्षा अधिकारी युवराज पौड्याल बताउनुहुन्छ । डोल्पामा दुई प्रकारको मौसम हुने भएकाले तल्लो डोल्पामा फागुन पहिलो हप्ताभित्रै पठनपाठन सुरु हुने भए पनि उपल्लो डोल्पामा चिसोले हटेपछि बल्ल मात्र विद्यालयको पठनपाठन सुरु भएको हो । डोल्पा जिल्लामा दाहोरो मौषमी प्रणलीका कारण दुई शैक्षिक सत्र हुदै आएको छ । तल्लो डोल्पामा फागुनको सुरुदेखि नै भर्ना अभियान सुरु हुने र उपल्लो डोल्पामा चैत २५ देखि भर्ना अभियान सुरु हुनेगर्छ ।
उत्तरी भेगमा पर्ने साल्दाङ, भिजेर ,तिन्जे,मुकोट, छार्का, धो लगायत गाविसमा मङ्सिरदेखि चिसो बढ्ने भएकाले गाउँका सबै सर्वसाधारण हिउँद कटाउनका लागि तल्लो डोल्पा झर्ने गर्छन् । उपल्लो डोल्पामा १८ प्राथमिक र एक मावि सञ्चालनमा छन् ।