लोडसेडिङ अन्त्यका लागि सबै उपाय अवलम्बन मन्त्री रायमाझी

काठमाडौं–चैत २७। उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले देशमा विद्यमान रहेको ऊर्जा सङ्कट अन्त्यका लागि सरकारले सबै उपाय अवलम्बन गर्न प्रयत्नशिल रहेको बताउनुभएको छ ।

topकाठमाडौंमा शनिबार भएको साक्षात्कारमा मन्त्री रायमाझीले उर्जा सङ्कट निवारण गुरुयोजनाअनुसार द्रुतगतिमा काम भइरहेको भन्दै आगामी वर्ष दैनिक पाँच\छ घन्टाभन्दा बढी लोडसेडिङ नहुने दाबी गर्नुभएको हो । निर्माणाधीन तथा निर्माणमा रहेका आयोजनालाई तत्काल पूरा गराउने योजनाका साथ सरकार लागेको भन्दै मन्त्री रायमाझीले आगामी एक वर्षभित्र आधारभूत रुपमा विद्युत कटौती अन्त्य गर्ने बताउनुभयो ।
अप्ठ्यारो परिस्थितिको बाबजुद पनि आफूले ऊर्जा क्षेत्रमा आमूल परिवर्तन ल्याउने प्रयास गरेको दाबी गर्दै मन्त्री रायमाझीले केही वर्ष भित्रै तिब्र रुपमा विद्युत उत्पादन गरेर निर्यात गर्ने सामर्थ्य सहित सरकार अघि बढेको बताउनुभयो । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम सुरु गरिएको स्पष्ट पार्दै ऊर्जा मन्त्री रायमाझीले निर्माणाधीन आयोजनालाई सबै साधन र स्रोत उपलब्ध गराएर काम गराइएको बताउनुभयो ।
बूढीगण्डकी, नौमुरे, नलसिंहगाड, माथिल्लो अरुण, सुनकोसीलगायत जलविद्युत् आयोजनासमेत चाँडै निर्माण कार्य अगाडि बढ्ने मन्त्री रायमाझीको भनाई थियो । भारतबाट आयात गर्ने भनिएको ६०० मेगावाट विद्युत् ढल्केबर र अन्य ठाउँमा सवस्टेसनको अभावका कारण ल्याउन नसकिएको भन्दै उहाँले सवस्टेसन र प्रसारण लाइन निर्माणको काम पनि जारी रहेको बताउनुभयो । प्रसारण लाइनको समस्याका कारण पूर्वी तराई र काठमाडौँ उपत्यकाबीच सन्तुलन कायम गर्न असहज भएको भन्दै उहाँले विभिन्न विकल्पमा साथ काम भइरहेको र छिट्टै परिणाम निस्कने बताउनुभयो ।
कार्यक्रममा मन्त्री रायमाझीले वर्तमान सरकारले स्थानीय निर्वाचन र संसदीय निर्वाचन गराएर मात्रै सत्ता हस्तान्तरण गर्ने बताउनुभएको थियो । उहाँले यही सरकारमा सहभागी भएर संविधान कार्यान्वयन गर्न भुमिका खेल्न प्रतिपक्षी नेपाली काँग्रेस र मधेसवादी दललाई अनुरोध गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया