काठमाडौं–चैत २७ । कानाकाबन्दीे दुई महिना वित्तिसक्दा समेत बजारमा खाना पकाउने ग्यांसको हाहाकार उस्तै छ । ग्यांस डिपो अगाडि र ग्यांस पाउने पखाईमा बसेका सर्वसाधारणको भीड उत्तिकै छ । अहिले पनि सर्वसाधारणले सहजै ग्यांस पाउन सकेका छैनन् । नेपाल आयल निगमका अनुसार अहिले पनि भारतीय आयल कर्पोरेशनले माग अनुसार ग्यांस दिएको छैन । अर्कोतर्फ पाएजति ग्यांस पनि लोड गर्न सकिएको छैन । जसका लागि निगमका कर्मचारी भारत गएर ग्यास लोड गरिरहेका छन् । नेपालमा सामान्यतया प्रत्येक दिन ५५ देखि ६० बुलेट ग्यांस खपत हुने गर्छ । तर अहिले ५० देखि ५५ बुलेट ग्यांस लोड भइरहेको छ । अनि नाकाबन्दीका कारण अत्याधिक खाली ग्यांस सिलिण्डर घरमै थन्किएकाले पनि ग्यांस सहज हुन नसकेको निगमको भनाई छ । अर्कोतर्फ सम्भावित कालोबजारी नियन्त्रणको लागि सादा पोसाकका प्रहरी पनि खटेको निगमको भनाई छ । सामान्यतया ३० मेट्रिकटन आउनुपर्ने ग्यांस फागुन महिनामा २१ मेट्रिकटन मात्र नेपाल भित्रिएको थियो । यो महिनामा भने अनुपातमै भित्रने निगमको दाबी छ ।