काठमाडौँ–चैत २५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डतालाई सुदृढीकरण गर्न सबैको सार्थक सहयोग आवश्यक हुने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहिबार पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको सम्मानमा स्थापना गरिएको ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को प्रारम्भिक साधारणसभामा दाहालले नेपालको सार्वभौमसत्ता र अखण्ताविरुद्ध विभिन्न कोणबाट प्रहार भइरहेको भन्दै त्यसविरुद्ध सबै राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताउनुभएको हो । संविधानको सहज कार्यान्वयनका लागि राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने र मुलुकभित्रका विभिन्न असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने भन्दै अध्यक्ष दाहालले मधेसवादी दलका जायज माग सम्बोधन हुने बताउनुभयो । माओवादी आन्दोलनलाई पुनःएकीकरण गरेर लैजाने दिशामा आफू अघि बढेको भन्दै उहाँले छिट्टै सार्थक सफलतामा पुग्ने बताउनुभयो । माओवादी घटकबीचको एकता प्रक्रिया तार्किक निष्कर्षको नजिक पुग्न लागेको दाबी गर्दै दाहालले छुट्टाछुट्टै बसेर देश र जनताको समेत हित नहुने बताउनुभएको थियो ।
एमाओवादीले महासचिव कृष्णबहादुर महराको नेतृत्वमा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान स्थापना गरेको छ । गरिब तथा न्यून आय भएको परिवारबाट कम्युनिस्ट आन्दोलनको उच्च पदमा पुग्नुहुने बोगटीको विचारलाई स्थापित गर्न र माओवादी आन्दोलनलाई पुनःएकीकरण गर्ने ध्येयका साथ प्रतिष्ठान स्थापना भएको महासचिव महराले बताउँनुभयो ।
एमाओवादीका उपाध्यक्ष रहनुभएका बोगटीको मस्तिष्कघात र हृदयघातका कारण २०७१ साल भदौ ३० गते निधन भएको थियो ।