काठमाडौ–चैत २५ । नेपाल विद्युत प्राधिकरणले अघोषित रुपमा दैनिक ३ घण्टा घटाएको छ । दैनिक १२ घण्टासम्म लोडसेडिङ हुँदै आएकोमा अहिले ९ घण्टा मात्रै लोडसेडिङ छ ।
विद्युत उत्पादन साविकको भन्दा केही बढेपछि तालिकाभन्दा कम अवधि लोडसेडिङ गरिएको प्राधिकरणले जनाएको छ । तर, तत्काल घोषित लोडसेडिङ तालिका परिवर्तन नहुने प्राधिकरणका प्रणाली सुधार तथा सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले बताएका छन् । ‘पहाडी क्षेत्रमा पानी परेकाले नदीमा समान्य सतह बढेपछि घोषणा नै नगरी लोडसेडिङ घटाइएको हो, पानीको सहत र उत्पादन घटेमा तालिका अनुसार नै विद्युत काटिनेछ– उनले भने ।
दुई हप्ताअघि एसएलसी परीक्षालाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले दिनमा एक घण्टा लोडसेडिङ घटाएको थियो । अहिले हप्तामा ७७ घण्टा लोडसेडिङ हुने तालिका छ ।