सोलुखुम्बु–चैत २३ । सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट मुग्ली जादैगर्दा नेले–९ रुकुरा भन्ने स्थानमा एउटा गुडिरहेको मोटरसाईकलमा आगलागी भएको छ । तर आगलागी भने अरु कसैले लगाएर नभई आफै भएको हो ।
बा ३९ प ३३६५ नम्बरको पल्सर मोटरसाईकलमा सवार भोजेन्द्र बस्नेतका अनुसार हिडदा हिड्दै ट्यांकीमुनीबाट एक्कसी आगो निस्किएको थियो । बस्नेत भन्छन–“कच्ची बाटोमा गुड्दै थियौं, एक्कासी आगोको मुस्लो निस्कियो, मोटरसाईकल छोडेर साथी सुरेन्द्रजंग कार्की र म दौडिएर केही पर डाडामा पुग्यौ । हेर्दाहेर्दै केही मिनेटमै मोटरसाईकल पूर्ण रुपमा जलेर नस्ट भयो ।”
आगोको मुस्लो निस्किएको ५ मिनेटमै स्थानीयहरु आत्तिएर उक्त स्थानमा आएपनि आगो निभाउन छाडेर सबै रमिते बनेका थिए । पछि लागलागी भएको करिब ७ मिनेटपछी ठूलो आवाजमा ट्यांकी पड्कीएपछि झनै स्थानीयको भीड बढेको बस्नेतले बताए ।
“धन्न बाँचियो, मोटरसाईकल छोडेर टुलुटुलु हेर्नुको विकल्प नै भएन ।” आफ्नो आँखाले पहिलो पटक गुडिरहेको मोटरसाईकलमा आगो लागेको देखेका बस्नेत घटनालाई यसरी स्मरण गर्छन ।
घटना के कसरी भयो यो अनुसन्धानपछि थाहा होला, तर गुड्दा गुड्दैको मोटरसाईकल यसरी जल्नुले घटनालाई रहस्यमय बनाएको छ । फोटो:भोजेन्द्र बस्नेत