कोरीयाली भाषा परीक्षा असार ४ र ५ गते

काठमाडौँ–२२ चैत । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको सातौं कोरीयाली भाषा परीक्षा असार ४ र ५ गते हुनेभएको छ । निर्देशक समितिकोे बैठकले सन् २०१७ का लागि हुन लागेको सातौँ भाषा परीक्षाको मिति असार ४ र ५ तय गर्दै काठमाडौँ उपत्यका तथा पोखरामा परीक्षा केन्द्र राख्ने निर्णय पनि गरेको छ ।
इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार श्रम तथा रोजगार मन्त्री दीपक बोहराको अध्यक्षतामा बसेको बैठकले परीक्षाका लागि आगामी वैशाख १५ देखि १८ गतेसम्म दरखास्त सङ्कलन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यस्तै, बैठकले भूकम्प अतिप्रभावित १४ जिल्लाबाट परीक्षामा उत्तीर्णलाई प्राथमिकतामा राख्न कोरिया सरकारसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ ।
उपत्यकामा पाँच स्थानसहित उपत्यका बाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरा गरी १० स्थानमा दरखास्त सङ्कलन केन्द्र राखिने तयारी भएको केन्द्रले जानकारी दिएको छ । पोखरा दरखास्त केन्द्रबाट दरखास्त दिएकाहरुका लागि पोखरामा नै परीक्षा दिने व्यवस्था मिलाइएको छ । यसअघि भदौमा भाषा परीक्षा हुने भनिएकोमा मानव संशाधन विभाग (एचआरडी) कोरियाले नै चाँडै परीक्षा लिन अनुरोध गरेपछि असारका लागि परिक्षा सारिएको हो ।

नेपाली युवाका लागि आकर्षक गन्तव्य मानिएको कोरियामा अहिले ३५ हजार ८०० परीक्षार्थीले भाषा उत्तीर्ण गरी रोजगारीको अवशर पाएका छन् । मेसिनले पढ्ने राहदानी (एमआरप) भएकाले मात्रै आवेदन दिन पाउने व्यवस्था इपिएसले गरेको छ ।
कोरियाले नेपालसहित १६ मुलुकबाट कामदार लिँदै आएको छ । सन् २००७ मा नेपाल र कोरिया सरकारबीच इपिएस प्रणालीअन्तर्गत कामदार लिने सम्झौता भएपछि सन् २००८ बाट नेपालमा भाषा परीक्षा सञ्चालन हुन थालेको हो ।

तपाईको प्रतिक्रिया