विदेशमा रहेका नेपाली युवाको एकल लगानीमा गाउँमा मोटरबाटो

पाँचथर–चैत । तीन वर्षदेखि साउदी अरबमा होटल व्यवसाय सञ्चालन गर्दै आएका एक युवकले व्यक्तिगत लगानीमा गाउँमा मोटरबाटो निर्माण गरेका छन् । पाँचथरको भारपा– ५ का ३३ वर्षीय श्रीप्रसाद यावा लिम्बूले रु २७ लाख खर्चेर गाउँमा मोटरबाटो पु¥याएका हुन् ।

श्रीप्रसाद यावा लिम्बू
श्रीप्रसाद यावा लिम्बू

मेची राजमार्गको डोपकुलेदेखि मानेडाँडा निम्नमाध्यमिक विद्यालयसम्मको पाँच किलोमिटर मोटरबाटो निर्माण उनकै लगानी र पहलमा भएको स्थानीयले बताए । विकासका पूर्वाधारसँगै मोटरबाटोको पहुँचबाट टाढा रहेको उक्त गाउँमा लिम्बूको एक्लो प्रयासमा सडक निर्माण भएपछि स्थानीय दंग छन । जुबेलमा ‘न्यू अन्नपूर्ण नेपाली होटेल’ सञ्चालन गरेका लिम्बू आफ्ना गाउँलेले मोटरबाटो खन्न गर्न आग्रह गरेपछि निर्माणका लागि तयार भएका थिए । निर्माण गरिएको उक्त सडकको नयाँ वर्षमा उद्घाटन गर्ने कार्यक्रम रहेको लिम्बूले बताए ।

मोटरबाटो सञ्चालन भएपछि पाँचथर, खुवा, सिडिम, प्राङबुङ, एकतीनलगायत गाविसका करिब एक लाख बासिन्दा लाभान्वित हुने छन् । भारतीय सीमासम्म जोड्ने लक्ष्यसहित निर्माण गरिएको सो सडक आगामी वर्षभित्र ग्राभेल गरिने लिम्बूले बताए । स्थानीय समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको सहमतिमा उक्त सडकको नाम ‘यावामार्ग’ राखिएको छ ।

मोटरबाटो खन्दा पानीको मूल भेटिएपछि खानेपानी योजनाको काम समेत अघि बढाउने लक्ष्य लिम्बूले अघि सारेका छन् । अहिले स्थानीय पानी लिन गाउँदेखि एक किलोमिटर टाढा रहेको खोलासम्म धाउने गरेका छन् । एघार वर्षअघि सामान्य कामदारका रुपमा लिम्बू साउदी अरब पुगेका थिए ।

तपाईको प्रतिक्रिया