काठमाडौं, चैत । बैदेशिक रोजगारीबाट स्वदेश फर्किएका अधिकांश युवा युवतीहरुमा मानसिक समस्या देखिएको छ । यो समस्या बढी हुनेमा खाडी मुलुकबाट फर्किने युवा युवती बढी पाइएका छन् । आफुनो नीजि तथा पारिवारिक आर्थिक अवस्था बलियो बनाउने सपना साँचेर विदेश पुगेका युवायुवतीहरु नेपाल एयरपोर्टबाट सोझै लगनखेलस्थित मानसिक अस्पताल पुग्न थालेपछि यस्तो समस्या बाहिर आएको हो ।
अस्पताल श्रोतका अनुसार खाडी मुलुकबाट फर्किएका युवायुवतीमा कामको चाप, मादक पदार्थ तथा लागु औषधको सेवन, परिवारसँगको बिछोड, बढी महत्वकांक्षा, लगायत समस्या र आर्थिक भारका कारण मानसिक रोग बढेको छ । सन्तुलन गुमाएर वा मनस्थिति बिग्रेर अस्पताल आउनेहरुको संख्या बढदै गएको अस्पतालको दाबी छ ।
खाडीमा रोजगारिका लागि पुग्ने मात्रै होइन, अध्ययनका लागी यूरोप अमेरिका जस्ता विकसित देश गएका धेरै विद्याथी अहिले मानसिक समस्यामा छन् । डीभी परेर अमेरिका गएका नेपाली युवायुवतिहरु समेत डिप्रेसनमा परेर नेपाल फर्किएका उदाहरण छन् । अझ, लगनखेलस्थित मानसिक अस्पतालमा उपचारका लागि आउने बिरामीमा परिवार छोडेर विदेशियका पुरुष तथा श्रीमानसँग विछोडिएका महिला बढी पनि छन ।
अस्पतालको तथ्यांकले मानसिक समस्या भएका बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी २० देखि ३० वर्ष उमेर समूहका युवा युवती भएको देखाएको छ । मानसिक समस्या जनस्वास्थ्यको लागि गम्भिर प्रकिृतिको समस्या भएपनि यसलाई सरकार तथा आम रुपमा हल्का ढंगले लिइने गरिएको भन्दै स्वास्थ्य क्षेत्रका विज्ञहरुको चिन्ता समेत व्यक्त गर्न थालेका छन् । लगनखेलस्थित मानसिक अस्पतालमा मा दैनिक १ सयदेखि १ सय ५० जनासम्म मानसिक समस्याका बिरामीहरु आउने गरेको रेकर्ड छ । महिला र पुरुषको संख्या झण्डै उस्तै छ ।
चिकित्सकहरुले सामान्य मानसिक रोगलाई बेवास्ता गर्दा त्यही रोग पछि कडा हुने भन्दै सबै मानसिक रोगको समयमै उपचार गर्न सुझाब दिएका छन् । अझ चिकित्सकहरु त प्राथमिक स्वास्थ्य केन्द्रदेखि जिल्ला तहसम्म मानसिक रोग पहिचान गर्ने र परामर्श दिने सुविधा हुनुपर्ने बताउँछन ।