के हुँदै छ मधेश आन्दोलन ?

काठमाडौं–चैत २० । ६ महिना चलेको मधेश आन्दोलन स्थगित गरिएको झण्डै दुई महिना पुग्न लागेको छ । जनजीवन सहजता र शक्ति संचयका लागि भन्दै आन्दोलन स्थगित गरेको मधेशी मोर्चाले बैशाखबाट फेरि आन्दोलन गर्ने भन्दै तयारी थालेको छ । जारी संविधानप्रति असन्तुष्ट रहँदै आएका मधेशकेन्द्रीत दलहरुको मोर्चा संयूक्त लोकतान्त्रिक मोर्चाले पून आन्दोलनलाई अगाडि बढाउने भएको छ । यसअघि नेपाल भारत सिमानाका ठप्प पार्ने जस्तो कडा स्वरुपको आन्दोलन गरेका उनीहरुले अब भने केही नरम रुपमा आन्दोलनलाई अगाडि बढाउने मनस्थितीमा पुगेका छन् । यतिबेला आगामी आन्दोलनका कार्यक्रम कस्तो बनाउने भन्नेमा मधेशबादी दलहरु केन्द्रित भएका छन् । सरकारसमक्ष प्रस्तुत गरेका ११ बुँदे माग सम्बोधन नभएसम्म  आन्दोलन निरन्तर जारी रहने उनीहरूको भनाइ छ । आगामी बैशाखको पहिलो सातादेखि आन्दोलनलाई अगाडि बढाउने बताइरहँदा सत्ता घटक र प्रमुख प्रतिपक्षी दलले मोर्चाको मागलाई गंभिरतापूर्वक नलिएको मधेश केन्द्रीत दलका नेताहरु बताउछन् । ६ महिना चलेको मधेश आन्दोलनका क्रममा ५० जनाभन्दा Madhesh-Andalonबढी आन्दोलनकारीको मृत्यु र सयौं घाइते तथा अंगभंग हुदा समेत बार्तामार्फत माग सम्बोधन गर्नेतर्फ सरकार गंभिर नभएको उनीहरुको बुझाई छ । सरकारले मधेश आन्दोलनका क्रममा मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा समेत ठट्टा गरेकोले सरकारसँगको बार्ता पनि टाढिएको मधेशबादी नेताहरु बताउँछन् । लामो आन्दोलनबाट पनि उपलब्धी हासिल नभएपछि यतिबेला मधेशबादी दलहरु अब आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेमा छलफलमा छन् । यद्यपी उनीहरुले मधेशमा मात्र केन्द्रीत रहेर आन्दोलन सफल नहुने बुझिसकेकाले आन्दोलनलाई परिणाममुखी बनाउन अन्य असन्तुष्ट पक्ष आदीबासी जनजाती सहितलाई साथमा लिएर काठमाडौ सहित देशब्यापी बनाउने बताउन थालेका छन् ।

तपाईको प्रतिक्रिया