पर्सा–१८ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रिय समितिको विस्तारित वैठक बिहिबारबाट वीरगंजमा शुरु भएको छ ।
वैठकमा अध्यक्ष कमल थापाले पेश गरेको पार्टीको रणनीति, मधेश आन्दोलन, प्रधानमन्त्रीको भारत र चीन भ्रमणको समिक्षा, पार्टीको संगठन सुदृढीकरण लगायतका विषय समेटिएको राजनैतिक प्रतिवेदनमाथी छलफल हुने बताइएको छ ।प्रतिवेदन पेश गर्दै अध्यक्ष थापाले सरकार भारत र चिनसँगको सम्बन्ध सुधारमा सफल भएको भन्दै प्रधानमन्त्रीको भ्रमणबाट असमझदारी र तिक्तता अन्तय भएको बताउनुभएको थियो ।
राप्रपा नेपालको केन्द्रीय समितिमा प्रस्तुत थापाको प्रतिवेदनमा सरकारको कामकारबाहिबाट पूर्ण सन्तुष्ट हुने अवस्था नभएपनि अहिले नै यो सरकारको विकल्प खोज्नु प्रत्युत्पादक हुने भनिएको छ । सरकारमा आफ्नो सजगता सहितको सहभागितालाई निरन्तरता दिने अध्यक्षको प्रतिवेदनमा छ ।
यसअघि राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्टले प्रेस विज्ञप्ति निकालेर संविधानलाई पूर्णरुपमा स्विकार्न नसकिने भन्दै सरकारबाट पार्टीका मन्त्रीहरु फिर्ता हुनु्पर्ने धारणा सार्वजनिक गर्नुभएको थियो । सहअध्यक्ष सहितको एउटा पक्षको बहिस्कार र असन्तुष्ठिकाबीच सुरु भएको बैठक दुई दिन सम्म चल्ने छ । यो बैठकले राप्रपा नेपालको आगामी बाटो र एजेण्डा तय गर्ने बताइएको छ ।