नेपाली राजनीतिमा दूरदर्शिताको खडेरी

सुवासचन्द्र भण्डारी – चैत । दुई ठूला राजनीतिक तथा आर्थिक महाशक्ति चीन र भारतको बीचमा रहेको नेपालको आफ्नै ऐतिहासिक तथा राजनीतिक विरासत छ । विश्वमान चित्रमा निकै धेरै सम्भावनाले भरिपूर्ण हाम्रो देश आज शताब्दीऔं लामो राजनीतिक अस्थिरताले गर्दा आर्थिक रूपमा अति कम विकसित राष्ट्रहरूको सूचीमा आफ्नो नाम लेखाउन बाध्य भएको छ । चाहे १ सय ४ बर्षिय जहाँनिया राणा शासन होस् या आजको गणतन्त्र नेपाल कुनै पनि राजनीतिक प्रणाली र व्यवस्थामा जनताले राज्यबाट त्यस्तो कुनै प्रत्यक्ष शुशासनको अनुभूती गर्न सकेनन् । १ सय ४ बर्ष लामो राणाशासन परास्त गरिसकेपछी पनि लोकतन्त्र र गणतन्त्रलाई पटक–पटक बन्धक बनाइयो । राजनीतिक दल र तीनका नेतृत्वले आह्वान गर्दा नेपाली जनता आफ्नो मुक्तिको लागि भन्दै जीवनदान दिन तयार भए । हरेक आन्दोलनमा नेपाली जनताको त्याग र समर्पण उल्लेखनीय रह्यो । तर यति लामो समयसम्म पनि जो जति राजनीतिक नेतृत्व पक्तिमा उभिए उल्लेख्य र दुरदर्शी निर्णयमा पटक–पटक चुकिरहे । राजनीतिक दलले समयमा उपयुक्त निर्णय लिन भन्दा एक–अर्काको अस्थित्व धारासायी बनाउने र आफू स्थापित हुने खेलमा व्यस्त रहे । २००७ सालमा अब प्रजातन्त्रको लागि नेपाली जनताले कहिल्यै लड्नुपर्ने छैन भनेर जनतालाई झुटो आश्वासन दिए पनि त्यही प्रजातन्त्र एक शब्दको लागि धरै पटक नेपाली जनता रगत बगाउन विवश भए । प्रजातन्त्रवादी वा साम्यवादी जुनसुकै राजनीतिक दल र तीनका नेतृत्वमा कुनै त्यस्तो विलक्षण नेतृत्व क्षमता देखिएन जुन नेपाली राजनीतिक संक्रमण र संकट समाधान गर्न काम लागेको होस् । सुरूमा आन्दोलनलाई आगोझैँ सल्काउने र त्यसलाई गन्तव्यमा नपुर्‍याई अन्तैतिर मोडिने प्रवृत्ति सबैजसो राजनीतिक दल र तीनको नेतृत्वमा कायम रह्यो । मुलुकको अन्य राजनीतिक दलहरूभन्दा छुट्टै पृष्ठभूमिबाट निर्माण भएको दावी गर्ने साम्यवादी र गौरवशाली पार्टी माओवादी नेतृत्वमा समेत दुरदर्शिताको थोरै परिमाण भेट्टाउन मुस्किल पर्‍यो । गहिरिएर सोच्दा दशकौँदेखी सुन्दै आएको नेपाली राजनीति नेपाली राजनीतिक दल र नेपाली जनतामा नभै अन्तराष्ट्रिय शक्तिहरूमा निहीत छ भन्ने कुरा नै तथ्यसंगत छ कि भन्ने आशंका बलियो भएर आउँछ । एक समयमा एक राजनीतिक दल वा त्यसको नेतृत्वले गरेको सानो गल्तीले देश पुस्तौँ–पुस्ता पछाडी धकेलियो । सबैखाले राजनीतिक दर र तीनका नेताअहरूमा २००७ सालदेखी हालसम्म पनि देश संक्रमण कालमा छ भन्ने कुरा थेगोझैँ झुन्डिरह्यो । यती लामो समयसम्म पनि कुनै त्यस्तो गर्व गर्न लायक कदम नेपाली राजनीतिक नेतृत्वले लिन सकेन । जनतालाई महझैँ गुलिया सपना बाँड्ने तर नतिजा निमझैँ तितो दिने कुरामा सबै खाले राजनीतिक दल र तीनको नेतृत्व माहिर देखिए । जनतालाई झुटो आशमा सधै पछि लगाइरहनु नै उच्च राजनीतिक कौशलता हो भन्ने धुर्त बुझाइबाट कुनै राजनीतिक दल माथी उठ्न सकेनन् । अन्तर दलीय मात्रै नभइ दलभित्रैको आन्तरिक कलहमा समेत प्राय सबै दलहरू बर्षौँ–बर्ष अल्झिरहे । साना भन्दा साना निर्णयमा पनि महिनौँसम्म निष्कर्षमा पुग्न सकेनन । मिठा भाषण गर्ने र दुई–चार जना कार्यकर्ता पछि लगाउँदैमा नेता भइहाल्ने घटिया प्रवृक्ति तिव्र रूपले फस्टायो । गुन्डागर्दी र दलालीको पृष्ठभ्ूमी बोकेका हिंस्रक व्यक्तिहरू रातारात नेताको रूपम स्थापित भए । बिद्धान भनिएकाहरूमा पनि त्यस्तो उच्च राजनीतिक कौशलता भेट्टाउन सकिएन् । सबै क्षेत्रका ब्यक्तिहरूको लागि राजनीतिक क्षेत्र सजिलै नाम र दाम कमाउन सकिने क्षेत्र हो भन्ने बुझाइको विकास भयो । राजनीतिक नेताहरूमा कमसेकम सैद्धान्तिक ज्ञान र सेवाभाव हुनुपर्छ भन्ने संस्कृतिको विकाश हुन सकेन । यो कुरालाई न त नेतृत्व पंत्तिमा रहेकाहरूले विकाश गर्न चाहे न त युवा नेतृत्वको फुइँलगाउँदै हिड्ने कार्यकर्ताले थालनी गर्न सके । २००७ सालको प्रजातन्त्र प्राप्तीपछि नै नेपाली जनताले देश तिव्र आर्थिक सामाजिक विकासको बाटोमा अघि बढ्ने आशा पालेका थिए । त्यसबेला राजनीतिक नेतृत्वले २०१७ सालको अलिकती पनि कल्पना गर्न सकेन । झण्डै ३० बर्ष लामो संघर्षपछि २०४६ साल त आयो यसपछी पनि दुरदर्शी नेतृत्वकै कमीले गर्दा देश पुन २०५२ सालामा सशस्त्र जनयुद्धमा होमियो । २०४८ सालमा तत्कालीन राष्ट्रिय जनमोर्चाको नेता डा. बाबुराम भट्टराइले ४० बुँदे माग सरकार समक्ष प्रस्तुत गर्दा र जनयद्धको उद्घोष गर्दा गुलेली चलाएर जनयद्ध हुँदैन भनेर हाँसी–मजाक गरियो । अन्तत: त्यही आन्दोलनले देशलाई १० बर्षसम्म अस्तव्यस्त पार्‍यो  । दशौँ हजार नेपाली छोरा–छोरीले सहादत प्राप्त गरे । एउटा बिन्दुमा पुगेर १२ बुँदे सम्झौता भयो । देशमा २ पटक संविधान सभाको निर्वाचन भयो । बल्ल बल्ल दोस्रो संविधानसभाबाट संविधान त बनेको छ तर अझै यसको कार्यान्वयन हुन बाँकी छ । देश अझै एक अस्तव्यस्त अवस्थामा गुज्रीरहेको छ । नेतृत्व सम्हालिरहेका नेताहरूमा कुशल नेतृत्व क्षमताको कमी देखिएको छ । अझै पनि उच्च राजनीतिक चरित्रको प्रदर्शन गर्न नसक्ने हो भने फेरी पनि देश एक युग पछाडी धकेलिने निश्चित छ । प्राप्त भएको भनिएको उपलब्धि युगौँ–युगसम्म फिर्ता नहुने गरी गुम्ने खतारा छ । पुस्तौँ सम्म पनि वर्तमान नेतृत्वलाई धिक्कारीरहने छन । हेरौँ वर्तमान नेतृत्वले पाएको यो सुन्दर तर अन्तिम अवसरलाई कसरी सदुपयोग गर्ने छ ।

–  लेखक नेपाल परिक्रममाका स्तम्भकार हुनुहुन्छ ।

Published On:  639पटक हेरिएको

तपाईको प्रतिक्रिया