नेपाल कहिल्यै एक चीन नीति बिरुद्ध जादैन : प्रधानमन्त्री ओली

काठमाडौं–९, चैत्र ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कहिल्यै पनि एक चीन नीति बिरुद्ध नजाने विश्वास दिलाउनुभएको छ । चीनको बेइजिङस्थित रेनमिन विश्वविद्यालयद्वारा मंगलबार आयोजित ‘दुई मुलुकबीचको सम्बन्ध विषयको गोष्ठीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सार्वभौम समानता, अहस्तक्षेप र एकअर्काको संवेदनशीलताप्रतिको आदरबाट दुई देशको मित्रता मुलुकको स्थिर रहने बताउनुभएको हो । Kp-oli11

प्रधानमन्त्री ओलीले चीन नेपालको नजिकको उदार छिमेकी भएको भन्दै चिनिया कम्पनीहरुको लगानी, व्यापारिक सम्बन्ध र प्राविधिक सहयोगमा नेपालको आर्थीक विकास तिब्र रुपमा अघि बढाइने बताउनुभयो । चीन नेपाली विद्यार्थीका लागि एउटा सुगम र महत्वपूर्ण गन्तव्यका रुपमा विकास भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले चीनमा अध्ययनरत नेपाली विद्यार्थीको बढ्दो सङ्ख्याले ज्ञानको आदानप्रदान, सिप विकास र साझा भविष्यको सम्भाव्यता बढाउने बताउनुभयो ।

अल्पविकसित अर्थतन्त्रयुक्त भूपरिवेष्टित राष्ट्र नेपालसामु मुलुकलाई समृद्ध बनाउने थुप्रै चुनौतीहरु विद्यमान रहेको भन्दै उहाँले लगानी अभिवृद्धि, स्रोत उपयोग, प्रविधि र नवीन रणनीतिहरुको आवश्यकता हुने बताउनुभयो । औद्योगिक आधारलाई फराकिलो पार्न र कृषिलाई आधुनिकीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले उद्योगलाई इन्धनका रुपमा आवश्यक पर्ने ऊर्जा उत्पादन गर्न र जलस्रोतको अधिकतम उपयोग गर्न सरकार भरमग्दुर प्रयास गर्ने बताउनुभएको थियो ।

वन बेल्ट वन रोड अभियान समृद्धिको सहयोगात्मक आयामहरु भेटाउने, साझा सरोकारलाई मुखरित गर्ने र सहयोगलाई गहिरो बनाउने कदम भएको भन्दै प्रधानमन्त्री ओलीले नेपाल चीन सम्बन्ध अझ प्रगाढ र बलियो हुने दाबी गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया