कहिले जडान हुन्छन् ट्राफिक लाइट ?

काठमाडौं–चैत,४ । बोलीचालीको भाषामा काठमाडौं महानगरपालिका रे । तर सेवा, सुविधा शहरी व्यवस्थापनको मामिलामा भने काठमाडौं महानगरपालिका भन्ने/नभन्ने छुट्याउन गार्‍हो छ । विकशित देशका शहरहरूमा नागरिकले ५० वर्षअघि पाइसकेका सेवा सुविधा पनि काठमाडौंका जनताले पाउन सकिरहेका छैनन् । कुरा हो, काठमाडौमा ट्राफिक बत्ति नहुँदा सर्वसाधारणले पाइरहेको सास्तीको । तपाईंले काठमाडौंका सडकमा सवारी चलाउनुभएको छ वा पैदल यात्रा गर्नुभएको छ भने तपाईंले चोक–चोकमा ट्राफिक व्यवस्थापनका लागि खटिएका ट्राफिक प्रहरी देखेकै हुनुपर्छ । Led-Lamp-Base-Traffic-Light

ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीले सिटी बजाउँदै गाडी जान, रोकिन र पदैल यात्रीलाई बाटो काट्ने संकेत गरेको पनि तपाईंले पक्कै देख्न सक्नुहुनेछ । सडकको धुलोमा दिनभरी सिटी फुक्दै ट्राफिक व्यवस्थापनमा खटिने प्रहरीको त आफ्नै समस्या होला नै, योभन्दा बढी समस्या भोग्न बाध्य छन् सवारीचालक र पैदल यात्रु । राजधानीका सडकमा ट्राफिक बत्ति नहुँदा सवारी चालकले लामो समयसम्म जाममा बस्नुपर्ने बाध्यता छ भने अर्कोतिर पैदल यात्रुले बाटो काट्न पनि झण्डै ७ देखि १० मिनेट पखिनुपर्ने बाध्यता छ । तर, ट्राफिक बत्ति राखेर ट्राफिक व्यवस्थापन गर्न सम्बन्धित निकायले सकिरहेको छैन । १३ वर्षअघि काठमाडौंका मुख्य १२ चोकमा जापान सरकारको सहयोगमा ट्राफिक बत्ति जडान गरिए पनि समयानुकूल मर्मत सम्भार नहुँदा ०६७ सालदेखि बत्ति बल्न छाडेका छन् । सवारी चाप निरन्तर बढ्दै गएको राजधानीमा बत्ति नहुँदा सडक दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । मुख्य सडकका विभिन्न १२ वटा चोकमा विद्युतीय र सौर्य प्रविधिमा निर्माण गरिएका ट्राफिक बत्तिले काम गर्न छोडेको चार वर्ष भइसक्दा पनि सम्बन्धित निकायले ध्यान दिएको छैन । उपत्यकाका मुख्य चोकमध्ये थापाथली, कालिमाटी, त्रिपुरेश्वर, पद्मोदय चोक, पुतलीसडकलगायत स्थानमा राखिएकामध्ये कुनै पनि संकेत बत्ति अहिले सञ्चालनमा छैनन् । ट्राफिक बत्तिको व्यवस्थापन गर्ने जिम्मा पाएको सडक विभागले सडक बत्ति व्यवस्थापनमा कुनै चासो देखाएको छैन । यतिसम्मकी सम्बन्धित निकाय सडक विभागलाई कहाँ–कहाँ सडक बत्ति जडान गरिएका थिए भनेसम्म पनि थाहा छैन । ट्राफिक प्रहरीले बत्ति नहुँदा सडक व्यवस्थापनमा अप्ठेरो पर्‍यो भनेर बेला–बेलामा पत्रचार गरेपछि सडक विभागले पुन प्रयोगमा नै आउन नसक्ने केही सडक बत्तिलाई मर्मत गरेर नाटक पनि गर्‍यो । तर, त्यसरी मर्मत गरिएका सडक बत्तिलाई ट्राफिक प्रहरी पुन: प्रयोगमा ल्याउन नसक्ने बताएपछि यतिबेला सडक विभाग ट्राफिक बत्तिको व्यवस्थापनमा बेखबर जस्तै भएर बसेको छ । ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका रहने सडक बत्तिको नियमित मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने भए पनि सम्बन्धित निकायले ध्यान नदिँदा दुर्घटनाको जोखिम  बढेको छ । त्यसै त क्षमताभन्दा बढी भार खेपिरहेका सडक त्यसमाथि व्यवस्थित बनाउने संरचना नै काम नगर्ने अवस्थामा पुगेपछि सडक अस्तव्यस्त हुने नै भयो ।

Published On:  650पटक हेरिएको

तपाईको प्रतिक्रिया