सैद्धान्तिक र व्यावहारिक शिक्षाको बीचमा रहेको खाडल नपुरेसम्म दक्ष जनशक्ति निर्माण हुन सक्दैन: शाक्य

विगत २२ वर्षदेखि शिक्षा क्षेत्रमा अनवरत रूपले लागि रहनुभएको छ, दिवस शाक्य । २०३१ साल असार १० गते सुनसरी जिल्लामा जन्मनुभएका शाक्यले माध्यमिक तहसम्मको शिक्षा धरानको श्री शिक्षा सदन माविबाट पूरा गर्नुभएको थियो । एसएलसी परिक्षा उत्तीर्ण भएपछि थप शिक्षाका लागि काठमाडौ उपत्यका छिर्नु भएका शाक्यले इन्टर मिडियट शिक्षा भक्तपुरको नdddddवदुर्गा बहुमुखी क्याम्पसबाट गर्नुभयो । उहाँले स्नातक र स्नातकोत्तर फाइनान्सियल म्यानेजमेन्टमा शकरदेव क्याम्पसबाट पूरा गर्नुभएको हो । २०४९ सालमा ब्राइट ल्याण्ड इङ्लिस स्कुलबाट शिक्षा सेवामा प्रवेश गर्नुभएका शाक्य त्यसयता लगातार शिक्षण पेशामा आबद्ध हुनुहुन्छ । शाक्य अहिले ग्लेसियर इन्टरनेशनल कलेजमा सिईओको रूपमा कार्यरत हुनुहुन्छ । २२ बर्षदेखि शिक्षण पेशामा रहनुभएका शाक्य अहिले शिक्षा क्षेत्रका एक विज्ञ व्यक्तिको रूपमा पनि परिचत हुनुहुन्छ । उहाँसँग नेपाल परिक्रमा संवाददाताले शिक्षाको विषयमा गरेको कुराकानी–

– शिक्षा भनेको के हो ?
शिक्षा ज्ञानको ज्योति हो । शिक्षा मानिसलाई अनुशासन सिकाउने एक महत्वपूर्ण तत्त्व पनि हो । शिक्षाले मानिसलाई सामाजिक, आर्थिक, राजनीतिक अनुशासन सिकाउँछ, चेतना दिन्छ । मानिसले बोल्न सकेको छ, घर परिवार चलाउन सकेको छ, सामाजिक मूल्य र मान्यता बुझेको छ, यी सबै कुराको पछाडि शिक्षाको नै भूमिका छ । यसबाट के भन्न सकिन्छ भने शिक्षा भनेको मानिसलाई सही दिशातर्फ हिँडाउने एक सारथी हो ।

– वर्तमान समयमा नेपालको शिक्षाको अवस्था कस्तो छ ?
साँच्चिकै भन्नुपर्दा अहिले नेपालमा व्यावहारिक शिक्षाको खाँचो छ । नेपालमा सैद्धान्तिक शिक्षा र व्यावहारिक शिक्षाको बीचमा ठूलो खाडल छ । धेरै विद्यार्थीहरूले केवल सैद्धान्तिक शिक्षा मात्र पाइरहेका छन्, सैद्धान्तिक शिक्षाले उनीहरूलाई पढेको भन्ने प्रमाणपत्र त दिलाएको छ तर काम गर्नको हातमा सीप दिलाउन सकेको छैन । अहिले नेपालमा उच्च तहको डिग्री हासिल गरे पनि युवा बेरोजगार बस्नुुपर्ने अवस्था छ । यस्तो अवस्था आउनुको पछाडि व्यक्तिको हातमा काम गर्ने सीप नहुनु प्रमुख कारण हो । यदि पढाइसँगै हातमा सीप हुने हो भने कुनै पनि युवाले जागिरको लागि अरुको मुख ताकेर बस्नु पर्दैन ।

– शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी बालुवाको पानी जस्तै हुनुको कारण के होला ?
सरकारी विद्यालयहरूमा स्रोत र साधनको कमी छ भन्ने गरिन्छ तर मलाई यो कुरा सही हो जस्तो लाग्दैन । किनभने सरकारले सबैभन्दा धरै बजेट शिक्षा क्षेत्रमा नै छुट्याएको छ । भौतिक पूर्वाधार र शिक्षक शिक्षिका छन् तर शिक्षा क्षेत्रमा लगानीअनुसारको प्रतिफल छैन । यसो हुनुको प्रमुख कारण के हो भने शिक्षा क्षेत्रमा सरोकारवाला निकायको आवश्यक नियमन नहुनु । सम्बन्धित निकायले राम्रोसँग नियमन गर्न नसक्दा शिक्षा क्षेत्रमा कहाँ कसरी लगानी भइरहेको छ बुझ्न सकिने अवस्था नै छैन । यसकारण पनि नतिजा खस्केको हुन सक्छ ।

– नेपालमा दुईखाले शिक्षा नीति भयो भन्नेर भन्ने गरिन्छ यसलाई तपाईँ कसरी विश्लेषण गर्नुहुन्छ ?
मलाई चाहिँ त्यस्तो छ जस्तो लाग्दैन, किनकी एउटै पाठ्यपुस्तक, एउटै प्रश्नपत्र र एउटै खाले विद्यार्थी सम्मलित हुने परीक्षालाई कसरी दुईखाले शिक्षा नीति भन्ने ? हो सरकार र निजी दुवैको शिक्षा क्षेत्रमा लगानी छ तर त्यसो भन्दैमा सरकारी विद्यालयको नतिजा राम्रो हुन सक्दैन भन्ने होइन । विद्यालयमा शिक्षकले शिक्षा प्रदान गर्ने शैली र विद्यार्थीले त्यसलाई ग्रहण गर्ने तरिकाले पनि सरकारी र निजी क्षेत्रबाट सञ्चालन गरिएका विद्यालयमा पढेका विद्यार्थीबीचको नतिजामा केही फरक परेको मात्र हो । तर यसलाई दुईखाले शिक्षा नीति भनेर भन्न मिल्दैन । नतिजाको कुरासँग शिक्षा प्रदायक संस्था, शिक्षक र विद्यार्थीको क्रियाशीलताले पनि प्रभाव पारेको हुन्छ ।

–शिक्षा क्षेत्रमा सरकारले गरेका कार्यक्रम प्रभावकारी भएनन् भनिन्छ, किन होला ?
सबै कुरा मानिसको चेतनाको स्तरमा भर पर्छ । सरकारले एउटा सोच बनाएर कार्यक्रम ल्याउँछ तर त्यो लक्षित वर्गसम्म पुग्दा सरकारले सोचेको जसरी पुग्नै सक्दैन । कार्यक्रमको भाव र मर्म बुझ्न लक्षित वर्गमा पनि त्यही अनुसारको चेतना हुनु जरुरी छ तर नेपालमा त्यस्तो देखिँदैन ।

अन्त्यमा, नेपाल परिक्रमामार्फत शिक्षाको विषयमा के भन्न चाहनुहुन्छ ।
शिक्षालाई सरकारले महत्त्वका साथ हेर्नु आवश्यक छ । शिक्षाका नाममा बजेट मात्र छुट्याएर केही हुनेवाला छैन । जबसम्म शिक्षा क्षेत्रमा सरकारले प्रभावकारी कार्यक्रम र दीर्घकालीन योजना ल्याउन सक्दैन तबसम्म शिक्षाको स्तर उकासिन सक्दैन । सरकारले शिक्षा क्षेत्रमा विनियोजन गरेको बजेट कहाँ, कसरी खर्च भयो त्यसको पनि कडाइका साथ नियमन हुनुपर्छ । शिक्षा क्षेत्रमा लाग्ने व्यक्ति पनि सफा नियतले लाग्नु पर्‍यो र शिक्षालय व्यवसाय गर्ने थलो बनाउन भएन ।

Published On:  1631पटक हेरिएको

तपाईको प्रतिक्रिया