लेखराज लिम्बु (बहत्तर) । चैत, १ । सन् दुई हजारबाट बेलायतमा नेपालीको संख्या वृद्धि हुँदै गयो र आज बेलायतको कतिपय ठाउँहरूमा नेपालीहरूको बस्ती नै देख्न पाइन्छ । नेपालीको संख्या वृद्धिसंगै संघ संस्थाको संख्या पनि बढेको छ । अहिले बेलायतमा २ सय ज्यादा संस्था रहेको सुन्नमा आउँछ । आफ्नो जात भाषा संस्कृति र समाजको हितको लागि खोलिएको जतिसुकै धेरै संस्था भएपनि मलाई हृदयबाट मनपर्छ र सकारात्मक सोच छ ।
आज बेलायतमा जुन प्रक्रियाबाट संस्था वृद्धि हुँदै छन् भोलिको पुस्ताको लागि, देशको लगि अनि नेपालीको लगि भनेर, त्यसलाई समयमा सबै संघ संगठनले मिलेर सोचिएन भने हामी एकीकृत हुनको साटो विभाजन हुने संभावना एकदम धेरै छ । बेलायतमा हरेक हप्ता कुनै न कुनै संस्थाको कार्यक्रम हुन्छ । म सामाजिक कार्यमा आबद्ध भएको कारण यो थाहा पाएको हँु । धेरै संस्थाहरूबाट कार्यक्रमको लागि निमन्त्रणा आउँछ र खुशी लाग्छ यो अर्थमा आफ्नो साथीभाइ, आग्रजसगँ भेट्न कुराकानी गर्न अनि सामाजिक क्रियाकलाप सगँसगैँ कार्यक्रमको उदेश्य बुझ्ने मौका मिल्छ । तर विडम्बना एउटै हप्ता एकै दिन धेरै कार्यक्रम जुधेको देख्दा धेरै नरमाइलो लाग्छ । एक मान्छे ३/४ ठाउँबाट कार्यक्रमको निमन्त्रणा अनि मान्छेहरू विभाजन हुन थाल्छ , सयबाट पचास, पचासबाट तीस, अनि कति कार्यक्रममा त मान्छेहरू नै देखिन्न । यो क्रियाकलापले हामीमा भएको एकता , बिश्वास खकुलो बनाउनेतर्फ डो¥याएको छ ।
मेरो सुझाव, म पनि कुनै एउटा संस्थाको सदस्य भएकाले यो गतिविधि रोकिनपर्छ भन्नेमा छु । सकेसम्म सबै संघसंगठन अनि विशेषगरी बेलायतमा आफू बसेको क्षेत्रको छाता संघसंगठन बनाउने अनि एउटै विचार भएकाले हातेमालो गरेर काम गर्ने, यदि काम गर्न नसके आफ्नो संस्थाले वार्षिक कार्यक्रम गर्ने मिति सबैले अगाडि सूचना सार्बजनिक गर्न सके यो सबैको हीतमा हुन्थ्यो । यसो गर्न सकेमा एकआपसको विश्वास बलियो हुने र आफ्नो अतिथिहरू दोधारमा परेर गुनासो गर्ने मौका पाउने थिएन । बर्षमा १÷२ पटक छाता संगठन आफैले केही सृजनानात्मक कार्यक्रम गर्न सके सबै जाति र क्षेत्रका युवा युवातीहरूले नयाँ, नवीनता, सीप, कला देखाउने मौका पाउँथे । सबैले यो कुरा मनन् गरेर अगाडि बढ्न सके सुन माथि सुगन्ध थपिने थियो ।
– लेखक लिम्बु वेलायतको वइमली अलपटनमा बस्दै आउनुभएको छ ।