जुम्ला, ३० फागुन ।
अचानक मौसममा देखापरेको अदलीबदलीका कारण कर्णाली अञ्चलका जिल्लाहरुमा भारी हिमपात भएको छ । वर्षासँगै कर्णाली अञ्चलका जिल्लामा अचानक भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको छ ।
हिमपातसँगै बढेको चिसोका कारण सर्वसाधारण घरबाट निस्कन सकेका छैनन् । हिमपातबाट जुम्लाको सुगम यातायात मानिएको हवाइसेवासमेत प्रभावित भएको छ । सदरमुकाम आसपासका गाउँमा बाक्लो हिउँ जमेको र हिउँ आधा फिटसम्म हुनसक्ने स्थानियले बताएका छन् । हिमपातसँगै चिसो बढेपछि कर्णाली भेगका अधिकांश विद्यालयहरु बन्द गरिएका छन् ।
जुम्लालगायत डोल्पा, कालिकोट, मुगु लगायतका जिल्लाका उच्च भेगमा पनि भारी हिमपात भएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हिमपातले जनजीवन कष्टकर भए पनि स्थानीय किसानहरु भने खाद्य बालिका लागि उपयोगि भएको भन्दै हर्षित देखिएका छन् ।